काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई हेरेर निराश हुने छुट नभएको भन्दै धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन् ।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरुको जगन्य हत्याको शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन । धुलो टकटक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ।’
अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान समेत गरे ।
उनले अगाडि भने, ‘देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनु पर्दछ ।’
२३ र २४ भदौमा भएका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग समेत गरे ।