काठमाडौं- नेकपा एमालेले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन्।
एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो। यसपछि नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन्।
‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ। देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, एमालेले विधान संशोधन प्रस्तावलाई अब भदौ २७ र २८ मा हुने विधान अधिवेशनमा पेश गर्ने भएको छ। यो विधान पारित भए दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात केन्द्रीय सचिव केन्द्रीय समितिले नै चयन गर्छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विगतको अनुभवले अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको बताए।