
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिइने बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा त्यस्तो बताएका हुन् ।
“सरकारले विदेशमा रहेका नेपालीहरूलाई पनि आवधिक निर्वाचनमा सहभागी हुने अवसर प्रदान गर्न चाहन्छ । निर्वाचनको स्वच्छता, निष्पक्षता, असर नपर्ने गरी विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्ने विषयमा आवश्यक प्रबन्धको खोजी निर्वाचन आयोगलाई आग्रह गर्दछु,” उनले भने ।
उनले सर्वोच्च अदालतको आदेशअनुसार विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था यसपटक सम्भव बनाउनैपर्ने बताए । “विदेशमा रहेका नेपालीले समानुपातिक भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको धेरै वर्ष भइसकेको छ । यसलाई सम्भव बनाउनैपर्छ,” अर्यालले भने ।
उनले प्रविधिको प्रयोग गरेर उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा राखे । “राज्यले पनि प्रविधिको प्रयोग गरेर मूलधारमा ल्याउने प्रयास गरौँ । विदेशमा रहेका नेपालीलाई राजनीतिको मूलधारबाट बाहिर जान नदिऔँ,” मन्त्रीले अर्यालले थपे, “यसपटक आयोगले यो गाँठो पक्कै फुकाउँछ । सम्पर्क मन्त्रालयले गर्नुपर्ने हामी गर्छौं ।”
उनले मतदाता नामावली संकलनका विषयमा अध्यादेश ल्याइने बताए । नो भोटको कुरा पनि धेरै अघिबाट आएको र त्यसबारे पनि सुझाव दिन आयोगलाई आग्रह गरे ।