काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले देशभरिका सबै सञ्चार संस्थाहरू (मुद्रण, टीभी र अनलाइन)लाई पूर्वप्रधानमन्त्री शेख हसिनाको भनाइ प्रकाशन तथा प्रशारण नर्गन कडा चेतावनी दिएको छ ।

सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पूर्वप्रधानमन्त्री हसिनाका भनाइहरू प्रकाशन तथा प्रशाराण नगर्न भनेको हो ।

बंगलादेश राष्ट्रिय साइबर सुरक्षा संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै हसिनालाई दोषी र भगौडा घोषित गरिएको जनाएको छ । विज्ञप्ति अनुसार, उनका भनाइहरूले देशमा हिंसा भड्काउन, अशान्ति फैलाउन र सामाजिक भाइचारा भत्काउनसक्ने चेतावनी दिइएको छ ।

अन्तरिम सरकारले हसिना र पूर्वगृह मन्त्री असदुज्जमान खान कमाललाई देशमा फिर्ता ल्याउन इन्टरपोलको मद्दत लिने जनाएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजक गाजी तमिमले उनीहरूलाई बंगलादेश फिर्ता ल्याउन सकियोस् भनेर विदेश मन्त्रालयमार्फत इन्टरपोलमा फैसलाको प्रति र गिरफ्तारी वारेन्ट पठाउने बताए ।

यसैबीच, हसिनालाई मृत्युदण्ड दिइएको विरुद्ध उनैको प्रतिबन्धित पार्टी आवामी लिगले आज देशव्यापी बन्दको आयोजना गरेको छ । आवामी लिगले ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई पूर्णरूपमा खारेज गरेको छ ।

पार्टीले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस र मन्त्रीहरूको तत्काल राजीनामाको माग गरेको छ । आवामी लिगका नेता जहाँगिर कबिर नानकले पार्टीको फेसबुक पेजमा भिडियोमार्फत यो फैसला पक्षपातपूर्ण र राजनीतिक प्रतिशोधको परिणाम भएको बताएका छन् । नानकले अदालतको प्रक्रियामा पनि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय