काठमाडौं १ भदौ । अन्ततः नेकपा एमाले फुटको संघारमा पुगेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताको अन्तिम तयारीमा जुटे संगै नेकपा एमाले दुई भागमा बिभाजन हुने संकेत देखिएको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूह नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । अध्यक्ष ओली कहिलै नसुध्रिने भन्दै नेता नेपालले एमाले एक हुन नसक्ने बताएका थिए ।

सरकारले संसदीय दलका २० प्रतिशत सांसद भए पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याए पनि आफूहरुसँग ४० प्रतिशत वढी सांसद रहेको नेपाल समूहको दाबी छ । स्रोतका अनुसार दल विभाजनका लागि चाहिनेभन्दा बढी सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ ।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जानुअघि अहिले नेपाल पक्षीय सांसद र केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बस्ने बैठकले नयाँ पार्टीबारे छलफल गर्ने नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए। सम्भव भएसम्म आजै एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने तयारी छ । तर नयाँ पार्टीको नाम भने गोप्य राखिएको छ ।

अध्यादेश लगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने सम्भावना रहेकाले बैठकमा त्यसबारे छलफल हुने चौधरीले बताए। यसअघि आजै कार्यदलमा रहेका सदस्यहरुसँग पनि नेता नेपालले छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय