काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले पराजित गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरलाई सस्तैमा रोक्न कर्णालीका विलियन बोसिस्टोले सर्वाधिक दुई विकेट लिए । चार ओभर बलिङ गरेका बोसिस्टोले १८ रन खर्चिए । मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान एक विकेट लिए ।

जनकपुरका सञ्जय कृष्णमुर्थीले ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले पाँचौँ विकेटको निम्ति संगीथ कुरेसँग ७५ रनको साझेदारी गरेका थिए ।

यसक्रममा ३९ बलमा एक चौका र चार छक्का प्रहार गरे । संगीथ कुरेले २५ रन जोडे । कृष्णमुर्थीको यो प्रतियोगितामा दोस्रो अर्धशतक हो । यसअघि उनले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

अविजित रहेका लोफ्टी इटोनले १३ रन र ओपनर माज सदाकतले १२ रन जोडे ।

त्यसअघि कर्णालीले पहिलो ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल खडा गरेको थियो ।

कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन लिए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले १९ रन बनाए । अविजित रहेका कप्तान सोमपाल कामीले १८ रन जोडे । प्रियांक पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन जोडे ।

जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई विकेट लिए । संगीथ कुरे, अनिलकुमार साह र माज सदाकतले समान एक विकेट लिए ।

यो नतिजासँगै कर्णालीले चार अंकका साथ सातौँ स्थानमा रही प्रतियोगिता टुंग्गाएको छ । गत वर्ष इलिमिनेटर र दोस्रो क्वालिफायर्समा स्थान बनाएको कर्णालीले यस संस्करण लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।

कर्णालीले लिग चरणमा पहिलो खेलमा चितवनसँग चार विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको, पाँचौँ खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३४ रनको हार व्यहोरेको थियो ।

पराजित साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा रही लिग टुंग्गाएको छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिडन्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकाल्न सक्यो । जनकपुरले छैटौँ खेलमा लुम्बिनीविरुद्ध चार विकेटको जित निकालेको हो ।

यसबोहक जनकपुरलाई पहिलो खेलमा काठमाण्डू गोर्खाजले पाँच विकेटले निराश बनाएको थियो । दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय