
१५ श्रावण काठमाडौँ । कोरोना महामारीको दोस्रो लहरसँगै अस्ट्रेलियामा संक्रमण दर बढ्दो छ । कोभिड–१९ को पहिलो लहरपछि केही समयका लागि ‘जिरो कोभिड’ को स्थितिमा पुगेको अस्ट्रेलियाका मुख्य सहरहरूमा हाल डेल्टा भेरिएन्टको संक्रमण बढ्दो क्रममा रहेको छ। संक्रमण बढेसँगै सरकारले मुख्य सहरहरूमा लकडाउन घोषणा गरेको थियो ।
लकडाउन जारी गरिएको भए पनि त्यसको राम्रोसँग पालना नभएपछि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । यस समस्याबाट पार पाउन अस्ट्रेलियाली सरकारले सेना परिचालन गरेको हो । लकडाउनलाई बेवास्ता गरेको भन्दै सरकारले अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा सेना परिचालन गरेको छ । प्रहरीसँगै खटिएका अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू लकडाउन पालना भए नभएको निगरानी गर्न सडकमा आउने गर्छन् ।
अस्ट्रेलियामा आगामी अगस्ट २८ सम्मका लागि लकडाउन जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन बर्जित गरिएको छ ।