काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको एक आवासीय इलाकामा शुक्रबार बिहान रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।
दर्जनौँ मानिस घाइते भएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
औद्योगिक सहर फैसलाबादमा स्थानीय समयानुसार बिहान करिब ५ः३० बजे विस्फोट भएको हो । विस्फोटका कारण ठूलो आगो लागेको र त्यो तत्कालै फैलिएको जनाइएको छ ।
विस्फोटको प्रभावले नजिकैका धेरै घरका भित्ता र छाना ढलेको छ । मृतक तथा घाइतेमा धेरैजसो त्यस्ता घरका बासिन्दा रहेका जनाइएको छ ।
घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । उनीहरूमध्ये धेरैको अवस्था गम्भीर छ ।
उद्धार कार्य जारी छ । कारखानाभित्र अझै थुप्रै मानिस फसेका हुन सक्ने अनुमान गरिएको छ ।




