काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८।३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा गुलबद्दिन नैबले अविजित ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ४४ बलमा एक चौकासहित ३९ रन थपे । ८१–३ को स्थितिबाट यी दुईले चौथो विकेटका निम्ति ६० रनको साझेदारी गर्दै लुम्बिनीलाई जितसम्म पुर्याएका हुन् । १७।३ ओभरमा रोहित पभेलियन फर्किंदा लुम्बिनीलाई जितका निम्ति दुई रनमात्र आवश्यक थियो ।
यसबाहेक, ओपनर सन्दीप जोरा र डी‘एर्सी शर्टले क्रमशः २८ र ११ रन जोडे । दीलिप नाश १० रन बनाएर रनआउट भए ।
चितवनका रिजन ढकालले दुई विकेट लिए । सोहेल तान्विरले एक विकेट हात पारे । चितवनले अर्को एक विकेट भने रनआउटबाट लिएको थियो ।
पहिलो इनिङमा बोपाराको अर्धशतक
त्यसअघि मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गरेको थियो ।
चितवनको ब्याटिङमा मध्यक्रम ब्याटर बोपाराले सर्वाधिक ६६ रन बनाए । यसक्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै, समग्र एनपीएलमा भने बोपाराको यो पाँचौँ अर्धशतक हो । यसअघि पनि चितवनकै प्रतिनिधित्व गरेको बोपाराले पहिलो संस्करणमा तीन अर्धशतक बनाएका थिए ।
बोपाराले ४३–३ को स्थितिबाट कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ४४ रनको साझेदारी चितवनको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । कुशलले १८ बलमा एक छक्कासहित २१ रन थपे ।
सैफ जैबले सात बलमा दुई चौका र एक छक्कासहित १५ रन जोडे । देव खनालले १४ र ओपनर दीपक बोहराले १० रन बनाए । चितवनले ओपनर डेविड मलानलाई भने पहिलो ओभरमै गुमाएको थियो । मलान ‘गोल्डेन डक’ भएका थिए ।
लुम्बिनीका रुबेन ट्रम्पेलमनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २३ रनमात्र खर्चिए । यस्तै, अभिषेश गौतम र गुलबद्दिन नैबको नाममा समान दुई विकेट रह्यो ।
प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो संस्करणमा लुम्बिनीको भने यो पहिलो खेल हो ।
प्रतियोगितामा भोलि ९शुक्रबार० पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।




