काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित संवादमा रहेका दलहरूसँगको एकता प्रक्रिया चाँडै टुङ्ग्याउने निर्णय गरेको छ।
आज बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई अब ढिला गर्न नहुने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।
उनका अनुसार एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग एकता गर्ने बताए।
नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि एकता गर्ने पनि बताए। उनले नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सग्लो ल्याउने प्रयास गरेको बताए।
उनले अब एकता गर्न ढिला गर्न नहुने बैठकले निष्कर्ष निकालेको बताए। थप निर्णय गर्नको लागि १७ गते केन्द्रीय कमिटी बैठक बस्ने बताए ।
यस्तै माओवादी केन्द्रले एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने प्रस्ट पारेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले माओवादी नफुट्ने बताए।
उनले भने, ‘जनार्दनजीको तरिका लोकतान्त्रिक र राजनीतिक पनि छैन, उहाँले केही कुरा लेखेर दिनुभएको छ। अध्यक्षसहित सबैले बस्नुस्, छलफल गरौँ, छलफल गरेपछि निष्कर्षमा पुगौँला भनेका थियौँ। उहाँको तरिका अराजक छ। तर, फुट्दैन।’ उनले शर्मालाई कारबाही गर्नेतिर पार्टीले नसोचेको बताए।




