काठमाडौं । यस वर्ष (सन् २०२५)को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई प्रदान गरिने भएको छ ।

नर्वेजियन नोबेल समितिले शुक्रबार यस वर्षको नोबेल शान्ति पुरस्कार माचाडोलाई प्रदान गर्ने निर्णय गरेको हो । “भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने उनको अथक प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न उनले गरेको संघर्षको लागि मारिया कोरिना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ,” नर्वेजियन नोबेल समितिले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नर्वेजियन नोबेल समितिले भेनेजुएलामा प्रजातान्त्रिक नेताको रूपमा माचाडो हालैका समयमा गरेका कार्यहरु ल्याटिन अमेरिकामा नागरिकले गरेको साहसको सबैभन्दा असाधारण उदाहरण भएको जनाएको छ ।

भेनेजुएला अपेक्षाकृत लोकतान्त्रिक र समृद्ध देशबाट एक क्रूर, अधिनायकवादी राज्यमा विकसित भएको समितिले जनाएको छ । भेनेजुएला अहिले मानवीय र आर्थिक संकटबाट गुज्रिरहेको पनि समितिको विज्ञप्तिमा उल्लेख छ । “भेनेजुएलाबाट लगभग ८० लाख मानिसहरूले देश छोडेका छन् । चुनावी धाँधली, कानुनी अभियोजन र कारावासको माध्यमबाट विपक्षीहरूलाई व्यवस्थित रूपमा दबाइएको छ,” समितिले भनेको छ ।

सन् २०२४ को चुनावअघि माचाडो विपक्षी दलको तर्फबाट राष्ट्रपतिकी उमेदवार थिइन् । तर भेनेजुएलाको तानशाही शासनले उनको उमेदवारीलाई रोक लगाएको थियो । त्यसपछि उनले चुनावमा फरक पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उरुटियालाई समर्थन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय