म्यान्मार सेनाले भारतका विद्रोही समूहहरूलाई दियो आश्रय म्यान्मार सेनाले भारतको उत्तरपूर्वी क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई म्यान्मारमा क्याम्प राख्ने अनुमति दिएको छ । ती विद्रोहीहरूले म्यान्मारमा सैन्य तालिम लिइरहेका छन् अनि चिनियाँ हतियारको बलमा मणिपुर र नागाल्यान्डमा हिंस्रक आक्रमण गराइरहेका छन् । भारतमा सक्रिय उग्रवादी संगठनहरूले म्यान्मार सेनाको गुनको पैंचो तिर्न म्यान्मारमा लोकतन्त्रसमर्थक मानिसहरूमाथि आक्रमण गरिरहेका छन् ।
भारतले म्यान्मारको सेनालाई सैन्य हतियारका साथै मानवीय सहायता पनि उपलब्ध गराइरहेको छ । तैपनि म्यान्मार सेनाले भारतको उत्तरपूर्वका उग्रवादीहरूलाई सहायता गरिरहेको छ । यसले भारतलाई ढाडमा चक्कु हानेको अनुभव भइरहेको छ ।एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, उग्रवादी समूहहरूले नोभेम्बर १३ मा मणिपुरमा गरेको हिंस्रक आक्रमणले म्यान्मार र भारतबीचको सम्बन्धलाई पुनः बहसमा ल्याएको छ । उक्त आक्रमणमा असम राइफल्सका एक अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।
असम राइफल्समाथिको आक्रमण मणिपुरको पिपुल्स लिबरेसन आर्मी र मणिपुर नागा पिपुल्स फ्रन्टको उग्रवादीहरूले मिलेर गरेका थिए । यी दुवै गुटको क्याम्प म्यान्मारको सीमाभित्र छ । आक्रमणपछि उग्रवादीहरू म्यान्मार सीमातर्फ भागेका थिए । भारत र म्यान्मारबीच १६ सय किलोमिटर लामो सीमा छ । त्यहाँ अनेकौं डाँडाकाँडा र दुर्गम क्षेत्रहरू छन् । उग्रवादीहरूलाई भारतमा आक्रमण गरेर म्यान्मारतर्फ भाग्न सजिलो छ ।
नागाल्यान्ड, मणिपुर र असमका उग्रवादीहरू विगत कैयौं वर्षदेखि म्यान्मारको सगाइङ क्षेत्रमा बस्दै आएका छन् । उनीहरू भारतमा आक्रमण गरेर त्यतैतिर भाग्छन् । सन् २०१९ मा म्यान्मार सेनाले तागामा सफाइ अभियान चलाएर उग्रवादीहरूमाथि कारवाही गरेको थियो । तर उनीहरूलाई अहिले म्यान्मारले आश्रय दिएको छ ।




