काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले चेतावनी दिँदै पृथ्वी नजिक एक विशाल एस्टोरोयड आउने जानकारी दिएको छ । यस एस्टोरोयडको नाम ३३६१ ओरफेस हो ।

पृथ्वीको नजिकबाट जाँदैगर्दा यसको रफ्तार करिब ३० हजार किलोमिटर प्रतिघण्टा रहने नासाले जनाएको छ ।

वैज्ञानिकका अनुसार यो आकाशीय चट्टान ९८४ फुट चौडा रहेको छ र यो लण्डनको बिग बेनभन्दा पनि तीन गुणा ठूलो छ ।

नासाले यसमाथि नजर राख्दै आइतबार पृथ्वीको नजिकैबाट गुज्रने बताएको छ । यद्यपि पृथ्वीको नजिकबाट गुज्रिने भए पनि चिन्ताको विषय भने नभएको नासाको भनाइ छ । यो पृथ्वीबाट ३५ लाख माइलको दूरीबाट गुज्रिनेछ ।

१२ करोड माइलभित्रबाट गुज्रिने कुनै पनि वस्तुलाई पृथ्वीको नजिकबाट गुज्रिने मानिन्छ । नासाले यस्ता नियर अर्थ अब्जेक्टमाथि निगरानी राख्दै आएको छ ।

नासाले तिव्र गतिमा आउँदै गरेको कुनै पनि वस्तु यदि पृथ्वीको ४६ लाख माइलको दायरामा आउँदा पृथ्वीका लागि खतरा मानिने बताएको छ ।

वैज्ञानिकका अनुसार यदि यस्ता विशाल चट्टानको परिक्रमा पथमा थोरै मात्रै पनि बदलाव भएमा पृथ्वीसँग ठोक्किने खतरा हुन्छ ।

नासाले यस्ता दुई हजार एस्टोरोयडमाथि निगरानी राखिरहेको छ । जो पृथ्वीदेखि ४६ लाख माइलको दूरीबाट गुज्रिनेछन् । हाल २२ यस्ता एस्टोरोयड छन्, जो पृथ्वीसँग ठोक्किने जोखिम देखिन्छ ।

एस्टोरोयडले ग्रहजस्तै सूर्यको परिक्रमा गर्दछन् । तर, यीनको आकार ग्रहको तुलनामा निकै सानो हुन्छ ।

करिब ४.५ अरब वर्ष पहिले सौर्यमण्डल बन्नेक्रममा ग्यास र धुलकणबाट एस्टोरोयडको निर्माण भएको थियो । ग्रह बन्ने क्रममा आकार लिन नसकेका चट्टानहरु नै एस्टोरोयड हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय