काठमाडौं- बुधबार बिहान सिरियाको राजधानी दमिश्कमा एक फौजी बसलाई निशाना बनाएर गरिएको बिस्फोटमा थुप्रैजना मारिएका छन् । यो खबर सिरियाको सरकारी मिडियाले जारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटमा कम्तीमा १३ जना मारिएका छन् ।
सिरियाको सरकारी समाचार एजेन्सी ‘सना’ ले दिएको जानकारी अनुसार जिसर अल–रईस पुलमा बसलाई दुई बिस्फोटक उपकरणमार्फत् एक ‘आतंकवादी’ हमलाको निशाना बनाइएको छ । रिपोर्टमा बताइए अनुसार सेनाले घटनास्थलमा भेटिएको अर्को बिस्फोटक उपकरणलाई नष्ट पारिएको छ ।
सनाको वेबसाइटमा पोस्ट गरिएको एउटा भिडियोमा कथित रुपमा हमलापछि जलेको बस देखिएको छ । रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकको वेबसाइटले बसमा सवार १४ सैनिक मारिएको जानकारी दिएको छ ।
संयुक्त राष्ट्रका अनुसार सिरियाको गृहयुद्धमा पछिल्लो १० वर्षमा कम्तीमा ३५०,००० जना मारिएका छन् । राजधानी दमिश्कमा बिस्फोट कमै हुन्छन् किनभने यहाँ राष्ट्रपति बशर अल–असदको सेनाको पूर्ण नियन्त्रण छ ।




