न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् । धनी र विकसित मुलुकहरूले गरीब मुलुकका नागरिकलाई खोपको सुनिश्चिताका लागि काम नगरेको भन्दै आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन ।
बुधबार भएको भर्चुअल ग्लोबल कोभिड–१९ समिटमा सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएका हुन् । थप खोप किनेसँगै अमेरिकाले संसारभरि बाँड्ने खोप १ अर्ब १० करोड डोज पुग्ने उनको भनाइ छ ।
बाइडेनले खोपसँगै खोप लगाउन चाहिने पूर्वाधार र प्रशासनिक कामका लागि पनि अमेरिकाले सहयोग गर्ने बताएका छन । त्यसका लागि ३७ करोड अमेरिकी डलर (४३ अर्ब ८७ करोड रुपैयाँ) छुट्ट्याइको बाइडेनले जानकारी दिएका छन्। उनले अहिलेसम्म अमेरिकाले संसारका एक सय मुलुकमा १६ करोड डोज खोप अनुदानमा दिइसकेको जानकारी दिए ।




