काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनः गृहयुद्ध चर्किने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, ।

खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । तालिबान नेतृत्वले केही शर्तहरु पूरा गरेपछि मात्रै आफूहरुले उनीहरुको सत्तालाई मान्यता दिने समेत खानले बताएका छन् । समावेशी सरकार गठन, मानव अधिकार तथा महिला अधिकारको सम्मान गरे मात्रै नयाँ सत्तालाई पाकिस्तानले मान्यता दिने खानको भनाइ थियो । खानले पाकिस्तानको सुरक्षामाथि खतरा निम्त्याउन सक्ने आतंकवादीका लागि अफगानिस्तान आश्रयस्थल बन्न नहुने तर्फ पनि तालिबान सजग हुनु पर्ने बताएका छन् ।

त्यस्तै, खानले अफगानी महिला एवं बालिकालाई शिक्षा हासिल गर्नबाट रोक्ने कार्य गैर–इस्लामिक भएको बताए । तालिबानले हालै बालिका÷किशोरीलाई विद्यालय जानबाट रोकेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । खानले बालिकाहरु चाँडै नै विद्यालय जान सक्ने अवस्था सिर्जना हुनेमा आफू आशावादी रहेको पनि बताए ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले समेत समावेशी सरकार गठन, मानव अधिकार र महिला अधिकारप्रति नयाँ तालिबान सत्ता संवेदनशील हुनुपर्ने बताएका छन् । यी विषयहरु सम्बोधन भएपछि मात्रै अफगानिस्तानको नयाँ सत्तालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने कुरेशीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय