
काठमाडौं । यस वर्षको दसैँ, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।
आज काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्वद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम सुरु भइसकेकाले दसैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन्।
जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरूको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दसैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। उनले दसैँका लागि घर जानेहरूले ३र४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए। उनले यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने पनि बताए।
बैठकमा प्रहरी प्रधान कार्यालयका वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दसैँमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाई सकेको बताए। उनले दसैँमा बस यात्रुहरूलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए।
प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरूको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताए ।