
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन अनुरोध गरेका छन्।
चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्रीज्यू मात्रै भने पुग्ने बताएका हुन्।
‘देशको सेवा कसरी गर्न सकिन्छ, चुनौतीपूर्ण घडीमा आएका छौँ । देशलाई समृद्धि, राजनीतिक स्थिरतातिर कसरी अगाडि बढाउने ठूलो चुनौती लिएर आएका छौँ। यो चुनौतीबाट भाग्नुहुन्न स्वीकार्नुपर्छ भनेर आएका छौँ’, उनले भने, ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौँ। कसैले नभनिदिनुहोला। मन्त्रीज्यू भने भइहाल्छ।’
तीनवटा मन्त्रालयको जिम्मेवारी रहेको बताउँदै उनले एक जिम्मेवार नागरिकको हैसियतले आएको बताए।
यस्तै नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
साथै, ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
यस्तै नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।
उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् ।