काठमाडौं । दुई देशीय शृङ्खलाको दोस्रो खेलमा पनि नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । योसँगै पपुवा न्यूगिनीले दुई देशीय शृङ्खला जितेको छ ।

शुक्रबार भएको पहिलो खेल पनि ६ रनले जितेको थियो । नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनीले सात विकेटको क्षतिमा ४८।४ ओभरमा जित हासिल गरेको हो। पपुवा न्यूगिनीलाई जित दिलाउन लेगा सिअका र रिलेई हेकुरको महत्त्वपूर्ण भूमिका रह्यो ।

पपुवा न्यूगिनीका लागि सिअकाले ९० र हेकुरले अविजित ४८ रनको पारी खेले । त्यस्तै, सेसे बउले ३८, चार्ल्स अमिनीले ३५, चाड सपरले १६ र हिरी हिरीले १३ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन, पवन सर्राफले दुई, सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ र देव खनालले ७२ रन बनाएका थिए ।

त्यस्तै, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रनको योगदान दिएका थिए । पपुवा न्यूगिनीका लागि अलेई नावले तीन, नर्मन भनुवाले दुई, चाड सोपर र चार्ल्स अमिनीले एक(एक विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय