
काठमाडौँ : विभागीय टिम एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । मनाङलाई हराउँदै एपीएफले आहा राराको उपाधि जितेको हो । पोखरा रंगशालामा आज मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै विभागीय टिम एपीएफले गोल्डकपको उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो ।
पेनाल्टी सुटआउटमा ओलावाले अफिज असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । उनको प्रहारलाई एपीएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए । एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने । मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए । उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
खेलको अग्रता विभागीय टिम एपीएफ एफसीले लिएको थियो । खेलको २० औं मिनेटमा युवराज खड्काले विभागीय टिम एपीएफलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७ औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए । कप्तान बिमल रानाको क्रसलाई सदुपयोग गर्दै सिंहले गोल गरेका थिए । खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । फ्रि-हेडमा हाईटको फाइदा उठाउँदै फ्रेङ्कलिनले गोल गरेका थिए ।
तर इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए । घरेलु लिगमा रेलिगेशनबाट बच्न संघर्षरत एपीएफले मोफसलको प्रतिष्ठित गोल्डकपमा भने उपाधि चुमेको छ ।