नोबेल कमिटीले सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुईजनालाई दिने निर्णय गरेको छ। बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ। लिस्ट जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक हुन् भने म्याकमिलन अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर हुन्।

यसअघि अक्टोबर ४ मा चिकित्साशास्त्र तथा शरीर विज्ञानतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक डेभिड जुलियस र लेबनानी वैज्ञानिक अर्डेम पाटापौटिएनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको थियो। द नोबेल एसेम्बली एट कारोलिनास्का इन्स्टिच्युटले हाम्रो शरीरले ताप र स्पर्शलाई कसरी ग्रहण गर्छ भन्ने पत्ता लगाएकोमा जुलियस र पाटापौटिएनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

त्यस्तै, अक्टोबर ५ मा भौतिकशास्त्रको नोबेल पुरस्कार अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिक स्युकुरो मनाबे, जर्मनीका क्लोस हासलमान र जर्जियो पारिसीलाई सयुंक्त रूपमा प्रदान गरिने घोषणा भइसकेको छ। हाम्रो जटिल भौतिक पद्धतिको बुझाइमा अभूतपूर्व योगदान पुर्‍याएकाले उनीहरूलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ।

अक्टोबर ४ देखि ११ सम्म विभिन्न विधामा पुरस्कार घोषणा गरिँदै छ। साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको पुरस्कार आगामी सोमबार घोषणा गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय