
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् ।
प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजना अनुसार राजीनामा दिएको बताए । ुनेतृत्वलाई ग्रुम गराउन यो ठाउमा छिरेका हौँ । मलाई क्यान आईसीसीबाट निलम्बनबाट पूर्ण फुकुवा भएपछि राजीनामा दिन सोचेको थिए उनले भने, अलि ढिला भएको हो । यो हाम्रो पहिलेकै योजना हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा २०७६ सालको असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा निर्वाचित भएका थिए ।प्याकुरेल अध्यक्षमा चतुरबहादुर चन्दको प्यानलबाट प्रत्यासी विनोद कुमार मैनालीलाई हराएर सचिवमा निर्वाचित भएका थिए ।
यस्तै श्रेष्ठ पनि चन्द प्यानलबाट मिङ्मा डाण्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए । क्यानमा नयाँ नेतृत्व आएपछि २०७६ को असोज २७ गते आईसीसीले तीन वर्षपछि क्यानको निलम्बन सशर्त फुकुवा गरेको थियो ।
सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । पछिल्लो समय भने सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठको अध्यक्ष चन्दसँग सम्बन्ध बिग्रिएको थियो ।