काठमाडौं । केही दिनदेखि बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट देखिएको छ । चालकको अभावले गर्दा पेट्रोल आपूर्तिमा संकट देखिन थालेको हो । क्रिसमस आउन केही महिना मात्रै बाँकी रहेको बेला इन्धन संकट देखिन थालेपछि पेट्रोल पम्ममा उपभोक्ताहरूको भीड लाग्न थालेको छ ।
अप्रत्यासित भीडभाड हुन थालेसँगै संकट व्यवस्थापनका लागि बेलायत सरकारले प्रयास गरिरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले सामान ढुवानी गर्ने ठूला सवारीसाधनका चालकको तलब बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । जोनसनले एचजिभीका मालिकसँग यस्तो आग्रह गरेको बेलायती समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सरकारी अधिकारीहरूले अवकाशप्राप्त ४० हजार चालकहरूलाई पुनः काममा फर्किन आग्रह गरेका छन् ।
अन्य मुलुकबाट समेत चालक ल्याउने गरी आप्रवासन नियम खुकुलो बनाउने तयारी समेत भइरहेको समाचारमा उल्लेख छ । आपूर्ति चक्रमा देखिएको संकट समाधानका लागि १० हजार विदेशीलाई तत्काल भिसा दिने तयारी गरिएको छ । यातायात मन्त्री ग्रान्ट शाप्सले आगामी महिनादेखि विदेशीलाई भिसा दिन सुरु गरिने बताएका छन् ।
ढुवानी क्षेत्रमा झण्डै ९० हजार चालकको अभाव भएकाले क्रिसमसको समयमा इन्धन आपूर्ति अवरुद्ध हुन सक्ने चेतावनी बिक्रेताहरूले दिएका छन् । झण्डै १०० वटा पेट्रोल पम्प खाली भएसँगै सरकारले मानिसहरूलाई नआत्तिन आग्रह गरिसकेको छ तर मानिसहरूले इन्धन भर्नका लागि तँछाडमछाड गरिरहेका छन् ।




