काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना गत साउन मै प्रत्यक्ष विदेशी लगानी एफडीआई साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको भदौ र असार बाहेक सबै महिनामा घटेको विदेशी लगानीमा चालु आर्थिक वर्षको सुरुमै उच्च दरले कमी आएको हो ।
कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेकाले विदेशी लगानी घटेको जानकारहरू बताउँछन् । ‘गत साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५।५ प्रतिशत घटेर ४८ करोड ६ लाख कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो ।’
गत आर्थिक वर्षको १० महिना विदेशी लगानी घट्यो भने २ महिना बढ्यो । २०७७ भदौमा २३।३ प्रतिशत र गत असारमा ०।२ प्रतिशत मात्र विदेशी लगानीमा सुधार आएको थियो । बाँकी सबै महिनामा विदेशी लगानी घटेको थियो । यद्यपि गत आर्थिक वर्षका पछिल्ला महिनामा विदेशी लगानीको घट्ने दरमा भने कमी आएको थियो ।
गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानी ०।२ प्रतिशत मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीको प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरिएको छ ।
कोभिडको असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंकले जनाएको छ । कोभिडको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनको दाबी छ ।
पछिल्ला महिनामा मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएकाले चालु आर्थिक वर्षमा पनि विदेशी लगानी बढ्ने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोधकै मुख्य कारण भएको उनीहरूको भनाइ छ । लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको उनीहरूको दाबी छ ।
आर्थिक वर्ष २०७६ र७७ का सबै महिनामा विदेशी लगानी उच्च दरले बढेको थियो । तर गत आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । यसअनुसार २०७७ साउनमा विदेशी लगानी ३।३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । भदौमा विदेशी लगानी २३।३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । असोजदेखि गत जेठसम्म घटिरहेको विदेशी लगानी अन्तिम महिनामा झिनो सुधार भएको हो ।
यसअनुसार गत असोजमा विदेशी लगानी २६।८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७।२, माघमा ३७।३, फागुनमा ३४।८, चैतमा २५, वैशाखमा १९।२, जेठमा १३।४ र असारमा ०।२ प्रतिशत घटेको थियो । पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको ९स्टक० एफडीआई हो । हरेक वर्ष विदेशी लगानीको आप्रवाह ९फ्लो० हेर्दा भारतभन्दा धेरै लगानी अन्य राष्ट्रबाटै आएको देखिन्छ । ‘नेपालमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१।५ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सो अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको छ ।’
भारतबाट आएको कुल लगानीमध्ये ३९।१ प्रतिशत उत्पादनमूलक, ४२।२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३।७ प्रतिशत अन्य क्षेत्रमा छ । भारतपछि धेरै विदेशी लगानी नेपाल आउने राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५।६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१।३ प्रतिशत उत्पादनमूलक, ५८।४ प्रतिशत बिजुली, ग्यास र ०।३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।
कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५ र७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो ।
आयरल्यान्डबाट कुल लगानीको ६।५, सिंगापुरबाट ६।३, अस्ट्रेलियाबाट ५।५, यूएईबाट ३।६ र दक्षिण कोरियाबाट ३।६ प्रतिशत विदेशी लगानी छ । यस्तै अमेरिकाबाट ३।१, बंगलादेशबाट २।७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत विदेशी लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । कान्तिपुर दैनिकबाट




