काठमाडौँ । विदेशी खेलाडीद्वय रहमनुल्लाह गुर्बाज र रायन बर्लको अर्धशतकमा काठमाडौं किंग्स ११ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो दिनको खेलमा आज लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ ।

अफगानिस्तानका गुर्बाजले ३६ बलमा ५९ र बर्लले ३४ बलमा ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १५ ओभर भित्र १ सय ६० रन बनाउदै पुरा ग¥यो । बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । अर्का अविजित ब्याटर राजु रिजालले १३ बलमा २ चौकासहित १९ रन बनाए ।

सुवास खकुरेल आफूले सामना गरेको पहिलो बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुर्बाज र बर्ल ललितपुरका बलरमाथि जाइलागेका थिए । गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गरे । उनलाई पवन सर्राफले स्टम्प आउट गराए ।

यसअघि पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई रन १ सय ५७ बनाएको थियो । ४० बलमा अर्धशतक बनाएका पवनले कूल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । साविक विजेता ललितपुरको सुरुआत निकै दयनीय भएको थियो । जितेन्द्र मुखियाले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेललाई आउट गरेका थिए भने ओभरको अन्तिम बलमा सेन्डोन विराकोडीलाई २ रनमा आउट गरी काठमाडौंलाई निकै उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शंकर रानाले २७ बलमा १४ रनमात्र बनाए पनि उनले पवनलाई राम्रो साथ दिए । पवनले त्यसपछि योगेन्द्रसिंह कार्कीसँग अर्को राम्रो साझेदारी गरे । योगेन्द्रले २० बलमा ३३ रन बनाए । पवन र योगेन्द्रलाई जिम्बावेका बलर रायन बर्लले लगातार बलमा आउट गरे । रासिद खान १ रनमै आउट भए । ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । नारायण जोशी ४ बलमा १२ रन बनाई अन्तिम ओभरमा आउट भए ।

काठमाडौं किंग्सका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रनमात्र खर्चेर ४ विकेट लिए । बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ र शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय