न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो ।

सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक थियो । किनभने उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतलाई मुस्लिममुक्त’ बनाउने अभियानमा लागेको आरोप लगाएका थिए । खानले मोदीको भारतीय जनता पार्टी र एक शताब्दीअघि अर्थसैन्य दस्तासहित हिन्दू पुनर्जागरण आन्दोलन सुरु गरेको राष्ट्रिय स्वयंसेवक संघप्रति संकेत गर्दै उक्त भाषण गरेका हुन् ।

मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेज भएको छ । मोदी सरकारको उक्त कदमको पाकिस्तानले विरोध गर्दै आएको छ । मोदीले ह्वाइट हाउसमा भेटघाट गर्ने दिनमा नै बैठकलाई सम्बोधन गरेका खानले व्यापारिक स्वार्थका कारण ‘पूर्ण दण्डहीनतासहित’ भारतले मानव अधिकार हननका घटनाबाट उम्किएको बताएका थिए ।

भारतले विश्व मञ्चमा प्रायः पाकिस्तानको अभिव्यक्तिलाई बेवास्ता गर्दै आएको छ । तर शुक्रबार भने राष्ट्रसंघका लागि युवा भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले खानलाई कडा जवाफ दिएकी थिइन् । उनले पाकिस्तानमाथि अलकायदाका मास्टरमाइण्ड एवं अमेरिकी विशेष फौजको कारबाहीमा अबोटावादमा मारिएका ओसामा बिन लादेनलाई आश्रय दिएको र जयजयकार गरेको आरोप लगाएकी थिइन् ।

दुबेले पाकिस्तानका अल्पसंख्यकविरुद्धको हिंसासँगै सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुने बेलामा भएको ‘धार्मिक एवं साँस्कृतिक नरसंहार’माथि समेत जोड दिएकी थिइन् । खानले आफ्नो सम्बोधनमा पाकिस्तानले भारतसँग शान्ति चाहेको बताएका थिए । तर दिगो शान्तिका लागि ‘जम्मू–काश्मिरमा जारी विवाद सुल्झिनु पर्ने’ उनको भनाइ थियो । खानको उक्त भनाइको जवाफ दिँदै दुबेले युनियन टेरिटरी जम्मू–काश्मिर र लद्दाख ‘सधैंभर भारतको अभिन्न अंग रहने’ भनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय