
२८ भदौ, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।
महिला र पुरुषहरु सँगै बसेर पढ्न नपाउने तालिबानले जनाएको छ । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको बीबीसीले जनाएको छ । तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने छ ।
तालिबानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट वन्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ । किनभने विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग–अलग कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन छैन । यद्यपि हक्कानी भने महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् । कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने उनले बताए । हक्कानीका अनुसार विद्यार्थीहरूलाई पढाउने विषयहरूको समीक्षा भइरहेको छ । यो नयाँ नियमलाई अफगानिस्तानका नागरिकले स्वीकार गर्ने हक्कानीले विश्वास व्यक्त गरेका छन् ।
देशको प्राथमिक र माध्यमिक विद्यालयमा महिला र पुरुषहरुलाई अलग–अलग शिक्षा दिइने छ । यो रुढीवादी अफगानिस्तानमा पहिलेदेखिकै चलन हो । छात्राहरुले हिजाब (पूरै शरीर ढाकिने पोशाक) लगाउनु पर्नेछ । राष्ट्रपति भवनमा तालिबानले आफ्नो झण्डा फहराएको भोलिपल्ट उच्च शिक्षा नीति घोषणा गरेको हो । यसलाई तालिबान शासन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।