
२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सि जिनपिङबीच सात महिनापछि पहिलोपटक फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जिनपिङसँगको वार्तामा दुवैको स्वार्थ मिल्ने क्षेत्रमा व्यापक, रणनीतिक चर्चा भएको उल्लेख गरेको छ ।
जो बाइडन अमेरिकाको राष्ट्रपति बनेपछि उनले दोस्रोपटक चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका हुन् । व्यापार, जासुसी र महामारीजस्ता विषयलाई लिएर अहिले अमेरिका र चीनबीच तनाव बढ्दो क्रममा छ । अमेरिकी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाइडनले यो चर्चा अमेरिका र चीनबीच चलिरहेको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक सम्हाल्ने प्रयासको हिस्सा भएको स्पष्ट पारेका छन् ।’
दुई मुलुकका प्रमुखबीच एकापसको प्रतिस्पर्धा युद्धमा परिणत नहोस् भन्ने सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको छ । यस वर्षको सुरुआतमा अमेरिकी र चिनियाँ अधिकारीबीच भएको वार्ता निकै तनावपूर्ण देखिएको थियो । दुवै पक्षले एकअर्कालाई आरोप लगाएका थिए ।