काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा आफ्नो टिमको प्रदर्शनको बिहीबार प्रशंसा गरेका छन् । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा टुंगेको थियो । उनले साफ च्याम्पियनसिप अगाडि नेपाली टिममा सुधार पनि आवश्यक भएको पनि माने ।
नेपालले जितको अपेक्षा गरेको दाबी गर्दै उनले बराबरीको नजिताका लागि नेपाली समर्थकसामु माफी पनि मागे । उनले आफ्नो आक्रामक रणनीति कायम रहने पनि बताए । पोस्ट म्याच कन्फ्रेन्समा अल्मुताइरीले भने, ‘मेरो लागि साफ च्याम्पियनसिप सबैभन्दा महत्त्वपूर्ण रहेको छ । त्यसैले हामी अहिले त्यसकै तयारीको क्रममा रहेका छौं ।’
भारतीय प्रशिक्षक इगोर स्टिमाकले पनि आफ्नो टिमको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै विशेषतस् दोस्रो हाफमा आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । उनले पहिलो हाफमा भारतको प्रदर्शन केही कमजोर रहे पनि दोस्रो हाफमा टिमले पर्याप्त मौका सिर्जना गरेको बताए । आफ्नो टिम जितका लागि हकदार भएको पनि उनले बताए ।
उनले भने, ‘पक्कै पनि हामी तुलनात्मक रूपमा बलियो टिम रह्यौं ।’ उनले नेपाली टिमको पनि प्रशंसा गरे र पछिल्लो समय नेपाली टिमको स्तरमा वृद्धि भएको पनि बताए । आफ्ना समकक्षी अल्मुताइरीको आगमनपछि नेपाली टिमको प्रदर्शनमा स्तरीयता देखिएको पनि उनको विश्लेषण थियो ।