![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/09/Capture.jpg)
१७ भदौ, काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १–१ को बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए । नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २–० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् । ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
भारतीय डिफेन्डर चिन्ग्लेनसाना सिंह कोनसामले गोलकिपरलाई ब्याक पास दिएको बल गोलकिपर गुरप्रित सिंह सन्धुले क्लियर गर्न नसकेपछि अन्जनले उनलाई छलाउँदै गोल गरेका हुन् । त्यसअघि ३२ औं मिनेटमा नेपालले पेनाल्टी एरिया बाहिर फ्रिकिक पाएको थियो । त्यसमा अन्जन विष्टको प्रहार पोष्टभन्दा धेरै माथिबाट बाहिरिएको थियो । पहिलो हाफमा पछि परेको भारतले दोस्रो हाफमा चार खेलाडी परिवर्तन गरेको थियो । ५० औं मिनेटमा अनिरुध थापाको फ्रिकिकमा कप्तान सुनील क्षेत्रीले पोष्ट नजिकबाटै प्रहार गरेको बल नेपालका गोलकिपर किरणले बचाएका थिए ।
६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए ।
अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए । ६५ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गर्दै मनिस डाँगी, सुनिल बल र विशाल राई मैदान प्रवेश गरेका थिए । मनिष नवयुगको स्थानमा, सुनील आयुष घलान र विशाल सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका हुन् । ८३ औं मिनेटमा भारतका मनविर सिंहले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल गोलपोष्टको दिशा लिन सकेन । इन्जुरी टाइममा सुमन अर्यालको पासमा मनिष डाँगीको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ ।