
एजेन्सी भदौ १७ । नाइजेरियामा बन्दुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरूलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खबर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् ।
जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरूलाई अपहरण गर्न ठूलो संख्यामा लडाकु आएका उल्लेख गरिएको छ । बुधबार बिहान काया गाउँबाट उनीहरूलाई अपहरण गरिएको र कता लगे भन्नेबारेमा यकिन हुन नसकेको अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
अपहरित बालबालिका माध्यमिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन भने बाँकी रहेको छ । गत डिसेम्बरदेखि हालसम्म नाइजेरियामा एक हजारभन्दा बढी विद्यार्थी अपहरणमा परेका जनाइएको छ ।