काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) बिहान ओमान प्रस्थान गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गरेको जनाएको छ । १७ खेलाडीसहित २२ सदस्यीय टिम ओमान गएका छन् ।

सिरिजका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो । बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका सार्वजनिक भएको छैन । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।

नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय