
८ भदौ, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई पूर्ण अनुमति दिएको छ । अमेरिकामा पहिलोपटक कोरोना खोपलाई पूर्ण अनुमति दिइएको हो । यसअघि यो खोपले आपतकालीन प्रयोगको अनुमति पाएको थियो ।
तीन साताको अन्तरमा दुई डोज लगाउनुपर्ने यो खोप १६ वर्षभन्दा माथिका सबै मानिसलाई लगाउन अनुमति दिइएको छ । अमेरिकामा कोरोना खोप लगाउन मानिसहरु अनिच्छुक रहेको समाचार आइरहेको समयमा फाइजरको खोपले पूर्ण अनुमति पाएको हो । एफडीएले करीब ४४ हजार मानिसमा गरिएको अध्ययनपछि यो खोपलाई पूर्ण अनुमति दिएको बताएको छ । अध्ययनको क्रममा यो खोप कोरोना संक्रमण नियन्त्रणको लागि ९१ प्रतिशत प्रभावकारी पाइएको थियो ।
एफडीएका कार्यकारी कमिश्नर जनेट वूडककले फाइजरको खोप सुरक्षित र प्रभावकारी हुनुका साथै यसले उत्पादनको गुणस्तर पनि पालना गरेको बताइन् । यद्यपि यो खोपले १२ देखि १५ वर्ष उमेर समूहका लागि भने आपतकालीन प्रयोगको मात्र अनुमति पाएको छ ।