
काठमाडौं ६ भदौ । तालिबान लडाकुहरूबाट आफ्ना महिला विद्यार्थीहरूको जीवनरक्षाका लागि शबाना बसिज–रसिखले उनीहरूको रेकर्ड जलाएकी छन् । अफगानिस्तानमा रहेर महिला छात्राहरूको बोर्डिङ स्कुल सञ्चालन गरिरहेकी शबानाले यो कदम चालेकी हुन् ।
ट्विटरमा आफ्ना छात्राहरूको रेकर्ड जलाइरहेको भिडियो हाल्दै उनले लेखेकी छन्, “करिब २० वर्षपछि अफगानिस्तानमा (अल–गर्ल्स बोर्डिङ स्कुल) महिला विद्यार्थीहरूको बोर्डिङ स्कुलको संस्थापकको रूपमा मैले मेरो विद्यार्थीहरूको रेकर्ड जलाइरहेकी छु । यो रेकर्ड उनीहरूलाई समाप्त पार्न नभई उनीहरू र उनीहरूको परिवारको रक्षाका लागि ।”शुक्रबार उनले एकपछि अर्को गरी ६ वटा ट्विट गर्दै यसबारे र आफ्नो अनि आफ्ना विद्यार्थीहरूको अवस्थाबारे जानकारी दिएकी छन् ।
उनले सन् २००२ मार्चमा भएको यस्तै एउटा घटनालाई पनि पुनः सम्झिएकी छन् । सन् २००२ मार्चमा तालिबानको पतनपछि हजारौँ अफगान किशोरीहरूलाई ‘प्लेसमेन्ट’ पीक्षाका लागि नजिकैको सामुदायिक विद्यालयमा बोलाइयो । कारण, तालिबान लडाकुहरूले ती छात्राहरूको अस्तित्व मेटाउन सबै रेकर्ड जलाइदिएका थिए । ती छात्राहरूमध्ये शबाना पनि एक थिइन् । यो घटनाको २० वर्षपछि शबानाले पनि आफ्ना छात्राहरूको रक्षाका लागि सोही कदम चालेकी छन् । तर, प्रसंग फरक छ । त्यो बेला अस्तित्व मेटाउन गरिएको थियो भने योपटक अस्तित्व जोगाउन ।
२० वर्षअघि जब अफगानीहरू त्यो दर्दनाक घटनाबाट बाहिर निस्कने कोसिस गरिरहेका थिए, शबानामा ती उज्यालो, बलियो भविष्य नभएका छात्राहरूका लागि पढाइको दियो बालिदिने जोसको आगो दन्किरहेको थियो । जुन कुरा उनले तेस्रो ट्विटमार्फत बताएकी छन् । उनले यी ट्विटहरूमार्फत आफ्ना छात्रा र उनीहरूको परिवारको उद्धारको पहल गरेको पनि उल्लेख गरेकी छन् । उनले उद्धारका लागिसहयोग गरिदिन अपिल गरेकी छन् ।