कोस्टा रिकामा चमेराको आनीबानी अध्ययन गरेका वैज्ञानिकहरूले चमेराका बच्चा र मानवका शिशुले गर्ने प्रलापमा विचित्रको समानता भएको पत्ता लगाएका छन् । चमेराहरूले लय मिलेको ध्वनि निकाल्छन् तथा “मूलभूत अक्षर “ पुनरावृत्ति गर्छन् । अनि यसबाट चमेराको प्रलापले मानवजातिका शिशुमा जस्तै सञ्चारको जग बनाएको सङ्केत प्राप्त हुन्छ ।

“तिनीहरू फतफत गरिराख्छन् – सूर्योदयदेखि सूर्यास्तसम्म – आफ्नो स्वरको अभ्यास गर्न,“ प्रमुख अनुन्धानकर्ता डा. आहना फर्नान्डेजले भनिन् । बर्लिनस्थित म्यूजीअम अफ न्याचरल हिस्ट्रीमा कार्यरत डा. फर्नान्डेजले आवाज निकाल्ने ग्रेटर स्याक–विङ्ड ब्याट भनिने “स्याकोप्टेरीक्स बाइलिनियाटा“ प्रजातिको चमेराको अध्ययन गरेकी छन् ।

“वास्तवमा यी चमेराहरू चराले जसरी गाना गाउँछन्,“ उनले भनिन् । डा. फर्नान्डेज र उनका सहकर्मीहरूले साइअन्स जर्नलमा एउटा शोधपत्र प्रकाशित गरेका छन् । त्यसमा उनीहरूले चमेराको बच्चाहरू आफ्नो गुँडमा फतफताएको आवाजको विश्लेषण गरिएको छ । मानिसको वाणीका लागि घाँटीमा भएको स्वरयन्त्रमाथि स्पष्ट नियन्त्रण आवश्यक पर्छ । मानिसका शिशु र बामे सर्ने बच्चाले गर्ने प्रलाप त्यस्तो नियन्त्रण प्राप्त गर्ने महत्त्वपूर्ण अभ्यास हो । अनि चमेरामा पनि त्यस्तै भएको ती अनुसन्धानकर्ताहरूको भनाइ छ । “वयस्क चमेराले निकाल्ने सबै अक्षर–प्रकारहरू हामीलाई थाहा छ,“ डा. फर्नान्डेजले भनिन् । “अनि चमेराका बच्चाको प्रलापमा सुनिने अक्षरहरू वास्तवमा वयस्कका जस्ता छन्। त्यो हामी स्पष्टसँग भन्न सक्छौँ।“ ग्रेटर स्याक–विङ्ड चमेरामा मात्र त्यस किसिमको ध्वनि निकाल्ने क्षमता भएको अहिलेसम्म वैज्ञानिकहरूले थाहा पाएका छन् ।

तर विश्वमा १,४०० भन्दा बढी प्रजातिका चमेरा पाइने भएकाले डा. फर्नान्डेज अरू चमेराले ले नि प्रलाप गर्न सक्ने सम्भावना भएको बताउँछिन् । यो अध्ययनबाट ध्वन्यात्मक सञ्चार गर्न सिक्नुपर्ने धेरै स्तनपायी जीवमा एउटा ढाँचाको पहिचान गरेको भए पनि डा. फर्नान्डेज “गाना गाउने“ उक्त प्रजातिको चमेराबारे धेरै थाहा पाउन बाँकी भएको बताउँछिन् । ““एउटाले सुरु गर्छ, ऊ १५ मिनेटजति फतफताउँछ अनि म अरूका कान घुमिराखेको स्पष्ट देख्छु।“ “तसर्थ तिनले एकअर्कालाई सुनिराखेको हो भन्ने मलाई लाग्छ । तर यसले तिनको अभ्यासमा कस्तो प्रभाव पार्छ भन्ने मलाई थाहा छैन।“

                                                                                                                                                               विविसि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय