
काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाईरसको संक्रमण देखिएको छ । जापान प्रस्थान गर्नु अघि गरिएको परिक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो । प्रशिक्षक मल्ल ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक रहेकी थिइन् ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव बिक्रम शाहले प्रशिक्षक मल्ललाई कोरोना संक्रमण भेटिएको पुष्टि गरे । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मल्ललाई कोभिड देखिएको भन्दै प्रशिक्षकको नाम सिफारिस गर्न अनुरोध गरेको छ ।
संघले मल्लको पुन परिक्षण गरेर मात्र प्रशिक्षकको नाम निक्र्योल गर्नुपर्ने अडान राखेको छ । एनओसीले भने पोजेटिभ देखिएका अफिसियललाई ओलम्पिक लैजान नसकिने बताएको छ ।
एथलेटिक्सका गोपीचन्द्र पार्कीको नाम ओलम्पिक जाने सूचिबाट हटेपछि सरस्वती चौधरीले सय मिटर दौडमा अवसर पाएकी थिईन् । महिला खेलाडी जाने भएपछि ओलम्पिक कमिटीले मल्लको नाम प्रशिक्षकमा सिफारिस गरेको थियो ।
संघले सुरुवातमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ्गको नाम सिफारिस गरेको थियो । तर एनओसीले गुरुङले कोभिडको खोप नलगाएको भन्दै नयाँ प्रशिक्षक सिफारिस गर्न अनुरोध गरेको थियो । सोही अनुसार संघले मल्लको नाम सिफारिस गरेको थियो ।
मल्ललाई कोभिड देखिएपछि एनओसीले म्याराथनका प्रशिक्षक सन्तोष श्रेष्ठको नाम सिफारिस गर्न संघलाई पत्राचार गरेको छ । श्रेष्ठको कार्ड समेत पहिल्यै आईसकेको अवस्थामा श्रेष्ठको नाम सिफारिस गर्न एनओसीको दबाब छ । तर संघले पुन परिक्षण गरेरमात्र नयाँ प्रशिक्षकको टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।