-बासुदेव आचार्य                                                                                                                   – कविता
आमा……..! मैले खुसीको क्षेत्रफल नापेर
सौगातमा तिमीलाई मेची र महाकालीको बुइँगल पठाइदिएको छु ।
पठाइदेऊ तिमी,
फलेको घाम
आस्थाको आँगन
सम्झौताको बार्दली
सत्कारमा पुरै बलेको आरती ।

आमा,बिर्खेको पसिनाको गन्धमा
उजेलीको मायाको स्पर्शसँगै,
मङ्गलेको गीतको भाकामा
रामेको क्रान्तिकारी गन्तव्यभित्र
गुराँसमा सिम्रिकको विजय भरेर,
रारा र सगरमाथा लिफामा अटाई
पठाइदिएको छु, तिमीलाई ।

आमा हामीलाई जसरी गाउँन सिकायौ,
उत्साह र परिवर्तनका गीतलगाउन सिकायौ,
सभ्यता र सहिष्णुताको साहिनो बाँड्न सिकायौ,
सफलता र समृद्धिका खुसी तिम्रो सङ्कल्पको अध्यायभुलेको छैन आमा ।

आमा,तिम्रो प्रसवनको ऋणी छु,
काँधमा– स्वाभिमानको ताज
नशामा– राष्ट्रभक्तिको रगत
पाखुरामा– देशकोगरिमा राखेर
निभ्ने छैन, जबसम्म,
गर्वले फुल्नेछ तिम्रो छाती,
खेती गर्नेछन्, सन्ततिले,
कला र सिर्जनाको ।

आमा, म मन्दिरै मन्दिरको देशको मान्छे
गाँसमा जीवन निभ्नै लागेका
असहाय र अशक्त भगवानलाई पुज्न सकूँ
साक्षी राखि पशुपतिनाथलाई
मागूँ स्वम्भूका आँखाबाट
करुणा र स्वज्ञानका पाठहरु,
अनि धरहराबाट बिगुल फुक्न सकूँ
मान्छे–मान्छेजस्तै बनुन्,
देश–मुटुजस्तै बनोस् ।

आमा, तिम्रा दृष्टिले
समृद्ध र खुसी नेपालीलाई नियालून्,
रेखदेखले जोगियोस्,
कान्छीको इज्जत तिम्रो लक्षणले पुगोस्,
काइँलीलाई खानलाउन तिम्रो सिमानाले नछुट्याओस मूल्य

आमा ठेस नलागेर बाँच्न पाउने
लामो आयुको आशीर्वाद देऊ,
जहाँ–चन्द्र सूर्य लगाएर सिरानी
ध्वजाको वात्सल्यमा निदाउन सकियोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय