
—डिल्ली बस्नेत ‘संगीत’
कोही जुट्दै थिए जिन्दगी बनाउन
अहोरात्र खट्तै थिए खुन पसिना चुहाइ
कोही फुट्दै थिए जिन्दगी बनाउन
मै खाउँ मै लाउँको कर्खा सुनाइ
तैपनि,
पुर्पुरोमा हात लगाइ रहेछन्
दरिद्रताका आँसु बगाइ रहेछन्
अर्कैको आश र प्रलोभनमा बाँच्दै गर्दा
भाग्य र भरोसामा आँैला भाँच्दै गर्दा
जिन्दगी त्यसै रित्तिने नै भयो
हेर्दा हेर्दै जिन्दगी सिद्धिने नै भयो
खै के जिन्दगी ?
लक्ष्य वीहिन जिन्दगी ।।
एउटा बुढो मान्छेले बारीको डिलमा खाल्डो खन्दै थियो । बाहिर टन्टलापुर घाम थियो । त्यो टन्टलापुर घाममा पनि बुढो मान्छेले खाल्डो खनिरहेको देखेर छेउबाट हिड्दै गरेको युवकलाई दया लागेछ । र, भन्न थाल्यो, ‘बाजे यो टन्टलापुर घाममा किन खाल्डो खन्दै हुनहुन्छ ? मैले केही सहयोग गर्नु प¥यो कि ? ’ खाल्डो खन्दै गरेको बुढो मान्छेले निधारको पसिना पुछ्दै भन्न थाल्यो, ‘ पर्दैन बाबु । एउटा आँपको विरुवा सार्नु छ । म आफैँ गरिहाल्छु । ’
युवकले भन्यो, ‘ यति बुढो मान्छे घरमा बसेर आराम गर्ने बेलामा व्यर्थैमा किन दुख गर्नुहुन्छ ? आँपको विरुवा अहिले रोपेर तपाइले कहिले खान पाउनु हुन्छ बाजे ? ’ खाल्डोमा आँपको विरुवा रोप्दै बाजेले भन्न थाले ,‘अबको ८÷१० बर्षमा फलि हाल्ला नि बाबु ।’
बाजेका कुरा सुनेर बटुवा खुवै हाँस्न थालेछ । भन्न थाल्यो, ‘८÷१० बर्षसम्म तपाई बाँचे पो खान पाउनु होला ।’ बटुवा हाँसेको देखेर बुढोलाई अचम्म लागेछ र भन्न थाल्यो, ‘त्यसरी नहाँस बाबु । मैले खान नपाए पनि मेरो सन्ततिले खान पाउला नि । तिमीजस्ता युवाहरुले यस्तो सोँच्न थाल्यौ भने भोलिको संसार कस्तो होला ? आज गरेको कर्मले नै भोलिको फल दिने हो । आज तिमी हाँस्यौ भने भोलि पक्कै पनि तिमीलाई रुनु पर्नेछ । त्यसैले भोलिको लागि केही गर्नु छ भने आजै लक्ष्य निर्धारण गर । ’ बुढाको कुरा सुनेर युवक छक्क परेछ ।
भनिन्छ नि म जो हुँ त्यो हुँदै होइन, म जो होइन नि त्यही हुँ । वास्तवमा मान्छे को हो ? आफैले आफैलाई प्रश्न गर्न सक्ने भनेकै मान्छे हो । अन्यथा, मान्छे र पशु विच फरक नै के रह्यो र ? पशुले आफुलाई सच्याउन सक्दैन । तर, मान्छेले आफ्ना गल्ति र कमी कमजोरीहरुलाई केलायो भने राम्ररी सच्याउन सक्छ । त्यसैले मान्छे हुनुको वास्तविकताभित्र समग्र जीवन र जगत अटेको हुन्छ । थरिथरिका मान्छेको विचबाट नियाल्दै जाँदा कोही टुटेका हुन्छन् । कोही फुटेका हुन्छन् । कोही बर्षौदेखि मस्त निन्द्रामा सुतेका हुन्छन् । थोरै मात्र आफ्नो जीवनको धरातलबाट माथि उठेका हुन्छन् । त्यही उठ्नु भनेकै वास्तवमा आफूले आफूलाई चिन्नु हो । आफूलाई चिन्न धेरै गाह्रो हुन्छ । बाह्य ऐना हेरेर आफूलाई चिन्न सकिदैन । वाहिरको दुनिया हेर्ने आँखाले आफूलाई हेर्न सकिदैन । आफूलाई हेर्न म को हुँ भन्ने आत्मबोध हुनुपर्छ । त्यो आत्मबोध हुनलाई लक्ष्यसंग जोडिनु पर्छ ।
लक्ष्य निर्धारणले आफूलाई सुधार गर्न धेरै मदत पुग्छ । हामी कसरी आत्मप्रेरित भइरहेका छौँ ? आफ्नो लक्ष्यको बारेमा कहिल्यै हामीले सोचेका छौँ ? आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा कुनै रणनिती तय गरेका छौँ ? पक्कै पनि छौँ भने हामी एक कदम अगाडि नै छौँ । तर, यदि छैनौँ भने जिन्दगीमा हामी केही कदम पछाडि नै देखिन्छौँ ।
जीवनमा अगाडि बढ्ने धेरै बाटाहरु छन् । जीवनमा सुधार ल्याउन धेरै कुराहरु सिक्नु पर्ने हुन्छ । तर, हामी सिकिरहेका छौँ कि आफूलाई थाहा नभएको कुरा अरुलाई त्यसै सिकाइ रहेका छौँ ? आफू अन्धकारमा भएर अरुलाई उज्यालो दिनु मुर्खता हो । मैन वत्ति आफू नजलेर अरुलाई कहिल्यै पनि जलाउन सक्दैन । आफू उज्यालो भएकै कारण अरुलाई उज्यालो दिन सफल हुन्छ । त्यसैले जीवनलाई पनि सफल बनाउन जीवनको अन्तरदियोलाई जलाउनु नै पर्छ । जीवन सफल भए मात्र बाहिर सफलताको दियो जल्न सक्छ । त्यसैले आफ्नो व्यक्तित्वलाई निखार्नको लागि, जीवनमा सम्वृद्धि र सफलता पाउनको लागि लक्ष्य निर्धारण गर्नु अत्यन्त आवश्यक देखिन्छ ।
सही लक्ष्यले जिन्दगीलाई एकाकार बनाउँछ । केही गर्नु पर्छ भन्ने कुरालाई सिकाउँछ । एउटा निश्चित बाटोमा लगेर त्यसतर्फ केन्द्रित हुन बाध्य बनाउँछ । लक्ष्य निर्धारण भनेकै जिन्दगीको एक रोडम्याप हो । त्यही रोडम्यापको आधारमा जिन्दगी चल्नु पर्छ ।अस्तु