“सांसारिक आसक्ति र आत्मिक शान्तिबीचको द्वन्द्व

काठमाडौ: निर्दोष नेपाल

उत्तरार्धमा पुगेपछि, जब एकचोटि पछाडि फर्केर हेर्छौं, तब देखिने दृश्यहरूलाई मनको मञ्चमा राखेर हेर्दा पनि यदि आत्मसन्तुष्टि प्राप्त हुँदैन भने, यो जीवन निष्फल रहेछ ।

मेरो मनको पटलमा ताजा रहेका जीवन्त स्मृतिहरूलाई एउटा चलचित्रको पर्दामा झैं घुमाएर, घुमाएर वर्तमानमा ल्याउने प्रयास किन गरिरहेको थिएँ म ? प्रश्नहरूको लामो पङ्क्तिले आफैं आगाडि बढेर उत्तरहरूलाई पार गरिदियो र पछि मात्र मैले महसुस गरें कि म प्रश्नहरूलाई हेर्न योग्य पनि छैन । ठीक त्यस्तो, जस्तो कहिल्यै विद्यालय नगएको बालकको अगाडि परीक्षाको प्रश्नपत्र राख्दा त्यसलाई मात्र होइन, प्रश्नपत्रलाई नै लाज लाग्दो हुन्छ ।

मैले सोचें, त्यो प्रश्नपत्र भित्र मैं समेटिएको छु, तर यसले मलाई कहिल्यै सावधिकरूपमा हेरेको छैन, त म कसरी मेरो वास्तविक चरित्र देखाउँछु ? फेरि मलाई त्यो मानिसहरूको याद आयो, जसले नेपाललाई नेपालको रूपमा नदेखि सिंगापुरसँग तुलना गर्छन् । उनीहरू जस्तै, म पनि न त नेपाललाई नेपाल बनाउन सकेँ, न त कोरियाको नयाँ सडकजस्तो बनाउन सकेँ, जहाँबाट नेपाललाई सिंगापुरको रूपमा देखिन्छ ।

अर्थहीन कुरामा अनर्थक वार्तालाप गरेर बस्नु मात्र बाँकी छ, जस्तो कुनै परिवर्तन नै भएको छैन । अब, जीवनको अन्तिम समयमा परिवर्तन कसरी सम्भव हुन्छ ? समय नै बाँकी छैन; बाँकी छ त केवल लाचारी, पश्चाताप र “मैले यो किन गरें” को दु:ख ।

रूखको टुप्पोमा पुगेपछि तल ओर्लने बाटो नभएमा, तल खस्नु त स्वाभाविक नै हो । हामी हरेक दिन आफ्नै दृष्टिकोणबाट तल झर्दैछौं, तर जीवनको अन्त्यलाई नदेखेको मात्र हो; जस्तो रूखको टुप्पोमा पुगेर जमिनतिर नहेरेझैं । जब जमिन स्पष्ट देखिन्छ, तब वास्तविकता पनि देखिन्छ: हामी कहाँ छौं ?

यो जीवन किन र केको लागि हो? यस जन्मको सार्थकता के हो? ईश्वरप्रतिको आस्था वा अरू केही ? गर्नुपर्ने कामलाई अर्थहीन ठानेर कसरी जीवनको वास्तविक द्वार खुल्ला हुन्छ र हामी यो शरीर छोडेर परमात्माको साक्षात्कार गर्न सक्छौं ? सानो-सानो कुरामा हाम्रो मन दु:खी हुन्छ, कसैले एउटा नराम्रो शब्द भनेपछि हामी निराश हुन्छौं, होइन र?

धन, पैसा र सांसारिक वस्तुप्रतिको मोहले “म को हुँ” भन्ने प्रश्नलाई नै सबैले बिर्सिसकेका छन् । यो जीवनपछि पनि अर्को जीवन छ, जहाँ सत्कर्मको हिसाब-किताब हुन्छ । तिमी के जवाफ दिने छौ? तिमीले यो जन्ममा के गर्यौ? हे भगवान, मलाई सांसारिक भूगोलबाट टाढा राख, पुनर्जन्मको चक्रबाट मुक्त गर ।

यसैले, यो निरर्थक परम्परा र समाजभित्रको “म” भन्ने अहंकारलाई म कसरी परिवर्तन गर्न सक्छु? सबैलाई सुख चाहिन्छ, राम्रो काम, राम्रो तलब, आदि-आदि । तर जीवनको चरम सत्य भनेको मृत्यु हो, जुन हामी प्रतिदिन आफैंसँग बोकेर हिँडिरहेका छौं । समयले हामीलाई हरेक पल एउटा ऐना देखाइरहेको छ, तर हामी आफ्नै अनुहार चिन्न सकिरहेका छैनौं । कसैले हामीलाई चिनाउन खोजिरहेको छ, तर चिन्ने क्षमता हराउँदा हामीले इन्कार गरिरहेका छौं ।

एकपटक थोरै समय निकालेर सोच्यो भने पनि जीवनको वास्तविकता देखिन्छ, तर हामी एउटा भ्यागुतोजस्तै भएका छौं, जसलाई संसार घुमाएर ल्याइयो र एउटा कुवामा राखिदिइयो । उसलाई थाहा छ बाहिर ठूलो संसार छ, तर उसले आफू बसेको कुवालाई नै सम्पूर्ण संसार ठानिराखेको छ । हामी पनि यो सांसारिक मोहलाई नै सबै कुरा ठानिरहेका छौं, वास्तविकताबाट लुकिरहेका छौं । तर सत्य हो: जतिसुकै लुकाए पनि, एकदिन चाहिँ ऊ प्रकट हुन्छनै! कहाँ हातले छेकेर सूर्यलाई छेक्न सकिन्छ र? तर हामी एउटा भ्रममा छौं कि हामीले हातले सूर्यलाई छेक्यौं भनेर… होइन, त्यस्तो छैन ।

हामी मन्दिर, चर्च, गुम्बा जान्छौं; निराकार ईश्वर, अल्लाह, येशूसँग पूजा, नमाज, प्रार्थना गर्छौं कि जीवन सरल र सहज होस् । के भौतिक सुविधामा जीवन बिताएर सरल, सहज र राम्रो जीवन पाउन सकिन्छ त? “सन्तोष नै सुख हो” भन्ने कुरा मात्र कागजमा लेखेर हामी हिँडिरहेका छौं! वास्तवमा सन्तोषलाई सुख मानेर जीवन बिताउँदा कस्तो हुन्थ्यो होला? हामीले हाम्रो कल्पनाभन्दा पनि बढी राम्रो जीवन पाउन सक्थ्यौं!

हाम्रो परिस्थिति जे जस्तो भएपनि, साँच्चिकै आनन्द त्यो बेला हुन्छ जब तपाईं एउटा गहिरो र मीठो निदाउन सक्नुहुन्छ । न त त्यहाँ भौतिक वस्तुको आसक्ति हुन्छ, न त सांसारिक सुखको लालच । के त्यस्तो जीवन राम्रो हुँदैनथ्यो होला? कुनै कुराको दु:खले जब छुँदैन, कुनै कुराको सुखले हामी आफैंलाई बिर्सनुपर्दैन । जब हामी आफ्नो आकृतिको अगाडि उभिन्छौं, तब पनि के हामीले आफूलाई चिन्न खोज्छौं? होइन र?

यहाँ कति आए, कति गए? आउने-जाने क्रम नै जीवन भए, त के बाँकी रह्यो त हाम्रो? र आएकाहरू फर्किए… अहो, फर्किएनन्! कहाँ गए त? के जीवनको अन्त्य यत्ति मात्र हो? तर पनि “आत्मा मर्दैन” भन्ने विज्ञान र धर्मको कुरालाई हामीले कसरी खण्डन गर्न सक्छौं? स्वीकारेर पनि हामी किन बिर्सिरहेका छौं कि हामी पनि हरेक दिन मृत्युलाई बोकेर हिँडिरहेका छौं? जीवनको घडी कुन क्षणमा रोकिन्छ? न त विज्ञानले, न त धर्मले, कसैले पनि निश्चित रूपमा भन्न सक्दैन । तर यो पनि होइन कि सत्यलाई स्वीकार नगरी हामीले आफ्नो कर्तव्यबाट मुख मोडौं ।

कसरी सार्थक जीवन जिउने? धेरै कुरा भनियो, तर यसको विकल्प के हो भन्ने तपाईंको मनमा पनि आएको होला । जस्तो हरेक पल मेरो मनमा आउँछ र म सोच्न बाध्य हुन्छु: म किन भौतिक कुराहरूलाई नै आफ्नो ठानेर तिनैको जबर्जस्तीमा आफ्नो सम्पूर्ण जीवन बिताउँदै छु? के ती वस्तुहरूको पूर्ति गर्नु नै जीवन हो? मलाई लाग्छ, जीवनको अन्त्यमा पुगेर पश्चाताप मात्र गर्नु भन्दा, यो भौतिक आसक्तिले मलाई आफैंसँग अनभिज्ञ बनाइरहेको छ । “मैले यो गर्नुपर्छ” भन्नु अघि, एउटा पटक आफ्नो मनलाई सोधेर हेर्नुस्; उत्तर सजिलै पाउनुहुनेछ । किनभने आँखाले देखेका वस्तuharुलाई चेतन मनले नै “यही सबै हो, यही सही हो” भनेर झुक्याउँछ । देखेका कुराहरू मात्रै हाम्रो चेतन मनले ग्रहण गर्छ, तर अवचेतन मन, जहाँ सत्य बसिरहेको हुन्छ, कुनै एक दिन एउटा ढोकाबाट वास्तविक संसार देखाउँछ र यो आत्मा त्यहाँ हिँड्न सिक्छ ।

यो सूर्य, यो चन्द्रमा किन बदलिने छन्? उनीहरू आफ्नो नियमभन्दा बाहिर जादैनन् । तर हामी? एकपटक सोच्नुहोस्: सूर्य एक दिन पृथ्वीमा नउदाए के हुन्छ? हामी जीवित रहन सक्छौं त? अहो, सक्दैनौं… यो विज्ञानले पुष्टि गरिसकेको छ । तर हामी आफ्नो कर्तव्यबाट किन भागिरहेका छौं? जनावरभन्दा पनि तल किन झर्दैछौं? प्रत्येक दिन जनावर पनि निश्चित समयमा भोग गर्छ, प्रजनन गर्छ । एकपटक खाना खायो भने, निश्चित समयसम्म खाना खाँदैन । तर हामी बलात्कारसम्म पनि गर्छौं? बिहान देखि साँझसम्म के-के खाइरहेका छौं? अब तुलना गरौं त…

हामीलाई “यो घर हो” भनेर कसले सिकायो? के धार्मिक ग्रन्थहरूमा लेखेको छ? हामीलाई “यो आकाश हो” भनेर कसले चिनायो? हामीलाई हाम्रो यो कोठा, यो चुकुल, यो भान्सा… यी सबै हामी आफैंले बनाएर आफैंले नाम दिइरहेका छौं र यसैलाई सत्य ठानिरहेका छौं । किन यसरी हामी भौतिक वस्तुप्रति आसक्त भएर यसैको लागि लागिपरेका छौं? र यसको अन्त्यभित्र हामी आफैंले आफूलाई चिन्न किन सकिरहेका छैनौं?

यति सानो कुरामा हामी अल्झिरहेका छौं कि त्यही कुराहरूले हामीलाई सोच्ने अवसर दिएको छैन । हामी: “तेरो-मेरो”, “उसले पैसा खाइदियो”, “भाइलाई जग्गा धेरै पर्यो”, “बाबु उससँग बस्यो”, “अफिसमा कामको मूल्यांकन भयो”, “पद बढुवा भयो”… पैसाले पुगेन? के-के किन्नुपर्छ? जब जीवनमा यी कुरा सधैं रहने छैनन्, हामी यसैमा अल्झिरहने छौं ।

मैले भन्दै आइरहेको छु: भौतिक वस्तुको आसक्ति जबसम्म हामीले टार्न सक्दैनौं, तबसम्म जीवन त्यसैमा घुमिरहनेछ र हामी पनि त्यसैमा घुमिरहनेछौं । अनि, आकृतिभित्रको चरित्र कसरी? हाम्रो चेतन मनले लिएर, हामी सत्यलाई अङ्गालौंला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय