
३२ साउन, काठमाडौं । तालिबानका एक प्रवक्ताले अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालिएको बीबीसीलाई बताएका छन् । देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए । उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए ।
अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न वार्ता गरिएको थियो । तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेको हो । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेर तालिबान सत्ताच्युत भएको थियो । अहिले पुनः सत्तानजिक पुगेको बेला उक्त लडाकु समूहले आफूलाई उदार देखाउने प्रयास गरिरहेको छ ।
यस्तै तालिबान नेतृत्वले अफगान नागरिकहरूलाई केही नगर्न फेरि आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । यसअघि आइतवार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग “प्रतिशोध“ नलिने बताएका थिए । तर धेरै अफगानहरूमा सन् १९९० को दशकको जस्तो निर्दयी शासन फर्किन्छ कि भन्ने डर देखिन्छ । पहिला शासनमा हुँदा तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिने गरेको थियो भने बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।
अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने सयौँ सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन् । तालिबान लडाकुहरू काबुल छिरेपछि ठूलो सङ्ख्यामा मानिसहरूले अन्यत्र जाने प्रयास गरेका हुन् । साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर माहिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन् । अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको बताएको छ । अमेरिकी सैनिकहरूले उक्त विमानस्थलको परिधिलाई सुरक्षा दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी र उसका साझेदार देशहरूले काबुलबाट आफ्ना कर्मचारी अन्यत्र लग्न थालेको भए पनि रुस र चीनले भने आफ्ना दूतावास बन्द नगर्ने जनाएका छन् । सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन् । माचारसंस्था रोएटर्सले हताहत हुनेको सङ्ख्या बढी भएको जनाएको छ ।
अर्का प्रत्यक्षदर्शीका अनुसार गोली लागेर वा भिडमा किचिएर ती मानिसको मृत्यु भएको भन्ने स्पष्ट भइसकेको छैन । साथै एउटा विज्ञप्ति जारी गर्दै तालिबानले कान्दहार विमानस्थलमा अफगान सुरक्षाकर्मीबाट भएको प्रतिरोध अन्त्य भएको जनाएको छ । हजारौँ सुरक्षाकर्मीले आफूसमक्ष आत्मसमर्पण गरेको तालिबानको दाबी छ । ती सुरक्षाकर्मीलाई तालिबान लडाकुहरूले तीन दिनदेखि घेराबन्दी गरेर राखेका थिए । दक्षिण अफगानिस्तानमा अवस्थित देशको दोस्रो ठूलो सहर हो ।