काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरूले सेवा प्रवाहदेखि सुशासनलगायतको विषयमा जायज अपेक्षा राखेको बताएका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको पार्टी कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधान महाधिवेशनमा पनि युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी २१ बुँदे प्रस्ताव पारित गरेको बताए।

उनले भने, ‘युवाहरूले धैर्यता राख्नुभएको भए एमालेले नै उहाँहरूको चाहनाहरू पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँथ्यो। हामीले त्यो प्रकारको योजना र सङ्कल्प तयार गरेका थियौँ। तर हामीले त्यो योजना व्यवहारमा लागू गर्न नपाउँदै मुलुकमा दुखद घटना घट्यो। युवाहरूको नाममा सुशीला कार्की अहिले प्रधानमन्त्री बन्नुभएको छ तर हामीले संविधानभित्रबाटै खोज्नुपर्छ भनेका थियौँ।’

उनले नेपालको राजनीतिक दलहरू युवाहरूको भावनालाई समेट्न तयार भएको सन्देश सम्प्रेषण गरेको भएपनि त्यो कुरालाई उपेक्षा गरिएको बताए।
उनले अहिले संविधानलाई अहिले कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे। उनले मुलुकलाई संविधान फर्काउन अविलम्ब तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नहरूको उत्तर दिन सक्षम छ। युवाहरूको भावनालाई सम्बोधन गर्न सक्षम छ। परिवर्तनको आकाङ्क्षालाई बोक्न सक्षम छ। मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न सक्षम छ। देशलाई कमजोर पार्ने प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्न सक्षम छ।’

उनले समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन नसक्ने भन्दै मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी रहेको बताए।

उनले थपे, ‘एमाले देशभक्तहरूको पार्टी हो त्यसैले त्यो कहिल्यै कमजोर हुँदैन। मुलुकलाई आधुनिक विकासको युगमा नेतृत्व गर्ने पार्टी हो। हामीले युवाहरूको आकाङ्क्षालाई पूरा गर्न सकेनौँ होला। हाम्रो पनि कमीकमजोरी होलान् तर हाम्रो देशभक्तिमाथि प्रश्न गर्ने कुरा उचित होइन।’

उनले अझै एकताबद्ध, सशक्त भएर मुलुकको विकास निर्माणमा प्रभावकारी ढङ्गले एमाले उठ्ने बताए।

उनले थपे, ‘हामी फेरि उठ्ने छौँ । अझ एकताबद्ध र सशक्त भएर, अझ जनताको भावनालाई सम्बोधन गर्न सक्ने सामर्थ्यका साथ मुलुक विकास र निर्माणको यात्रामा प्रभावकारी ढङ्गले प्रस्तुत हुनेछ। सामर्थ्यका साथ हामी उठ्नेछौँ, उठ्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय