काठमाडौं । ऊर्जासहित तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले शपथ लिएलगत्तै जेनजी आन्दोलनका सहिदको घरमा गएर तस्बिरमा माल्यार्पण गरेका छन्।

शीतलनिवासबाट निस्केर उनी सहिद धीरज श्रेष्ठको घरमा गएर श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनलाई सहानुभूति पनि प्रकट गरे।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ।

तिनैमध्येका एक हुन्, धीरज। भदौ २४ गते आन्दोलनका क्रममा बालाजुमा उनको निधन भएको थियो।

कुलमानले धीरजका घरमा गएर शोक पुस्तिकामा श्रद्धाञ्जलिका शब्द कोरे। सहिदको सपना साकार पार्न इमानदार भएर लाग्ने प्रतिबद्धता पनि जनाए।

परिवारजनले पनि २२ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेका कुलमानले देशले चाहेअनुसार काम गर्नेमा पूर्ण विश्वास रहेको बताए। र, आफ्नो तर्फबाट साथ र सहयोग रहने परिवारजनको भनाइ थियो।

 

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि पाएका छन्।

कुलमानसहित तीन जना नवनियुक्त मन्त्रीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतलनिवासमा शपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय