
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका-६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।
हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार १४ वर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ । इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई-दुई जना हैजाका बिरामी भेटिएका छन् ।
त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक-एक जनामा हैजा संक्रमण देखिएको छ ।
इडीसीडीका निर्देशक डा.चुमनलाल दासका अनुसार सोमबार दिउँसोसम्म एक जनामात्रै उपचाररत छन् । साथै काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।