काठमाडौँ — रुसले युक्रेनको राजधानी किभमा आक्रमणलाई तीव्र बनाइरहँदा एक चिनियाँ कूटनीतिज्ञले चीनले युक्रेनको वर्तमान अवस्था हेर्न नचाहेको प्रतिक्रिया दिएका छन् । कोरियाली प्रायद्वीपका लागि चिनियाँ प्रतिनिधि लिउ चियाओमिङले चीनले युक्रेनको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका हुन् ।
उनले अवस्था नियन्त्रणबाहिर जान नदिनका लागि सबै पक्षले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । इजिप्ट, उत्तर कोरिया र बेलायतका लागि चीनका पूर्वराजदूतसमेत रहेका चियाओमिङले अगाडि भनेका छन्, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनुपर्छ । ठूलो मात्राको मानवीय संकट रोकिनुपर्छ । चीनले साझा, व्यापक, सहयोगात्मक र सतत सुरक्षाको वकालत गर्ने पनि उनले बताएका छन् ।
कुनै एक देशको सुरक्षालाई ध्यान दिँदा अर्को देशले आफ्नो सुरक्षाको मूल्य चुकाउन नहुने उनको भनाइ छ । सबै मुलुकको वैधानिक सुरक्षा चासोलाई सबैले आदर गर्नुपर्ने पनि उनले बताएका छन् । त्यस्तै पूर्वी युरोपमा लगातार नेटोको विस्तार भइरहेको उल्लेख गर्दै उनले रुसको सुरक्षासम्बन्धी चासोलाघ पनि गम्भीरतापूर्वक लिएर सम्बोधन हुनुपर्ने उनको भनाइ छ ।
चियाओमिङले अगाडि भनेका छन्, सबै देशको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान र संरक्षण गरिनुपर्छ भन्ने कुरामा चीनको दृढ विश्वास छ । यूएन चार्टरको उद्धेश्य र सिद्धान्त इमान्दारीसाथ पालना गरिनुपर्छ । यस विषयमा चीनको धारणा स्पष्ट र सुसंगत रहेको छ । र युक्रेन मुद्दामा पनि समान रुपमा लागू हुन्छ ।
बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो । शनिबार बिहान पनि राजधानी किभमा रुसले दुईवटा मिसाइल आक्रमण गरेको थियो । किभका अधिकारीहरूका अनुसार एउटा अपार्टमेन्ट र अर्को मिसाइल जुलियानी विमानस्थलनजिकै खसेको बताइएको छ ।
यसैबीच रुसले वार्ताका लागि युक्रेनसमक्ष प्रस्ताव राखेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । रुसी समाचार संस्था तासले रुसको वार्ताको प्रस्ताव युक्रेनले स्वीकार गरेको दाबी गरेको छ ।