काठमाडौं- नेकपा एकीकृत समाजवादीका नवनियुक्त उपमहासचिव जगन्नाथ खतिवडाले बागमती र प्रदेश १ को मुख्यमन्त्री आफ्नो पार्टीले पाउनेगरी सहमति भएको प्रस्ट पारेका छन् ।
बागमती र प्रदेश १ को मुख्यमन्त्री आफ्नो पार्टीले पाउने पुरानै सहमति भएको उनले बताए । सत्ता गठबन्धनमा सरिक रहेको नेकपा एकीकृत समाजवादीलाई ४ वटा मात्र मन्त्रालय दिने भनेपछि असन्तुष्टि रहेको थियो ।
यद्यपि, बिहीबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुई मुख्यमन्त्री दिनेगरी सहमति गरेको थियो ।
‘हामीले सरकारमा जाने निर्णय पहिला नै गरिसकेका छौँ,’ बानेश्वरमा बसेको स्थायी कमिटीको बैठकका निर्णय सुनाउँदै खतिवडाले भने, ‘हामीले बारम्बार उठाइरहेको कुरा पनि हो । बागमती र प्रदेश १ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले प्राप्त गर्नेगरी सहमति भइसकेको छ ।’
आजकै बैठकले खतिवडालाई महासचिव बनाएको हो । उनी यसअघि पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए ।