
१६ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गर्ने भएको छ । कतारमा रहेको तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता टोलीका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले तीन दिनभित्र अफगानिस्तानमा नयाँ सरकार बन्ने बताएका हुन् ।
बीबीसीको पश्तो रेडियोसँगको कुराकानीमा उनले नयाँ सरकारमा २० वर्षदेखि सरकारमा रहेका व्यक्तिलाई सहभागी नगराइने बताए । स्टानिकजईले अफगानिस्तानमा सबैलाई प्रतिनिधित्व गराएर एक समावेशी सरकार बनाइने पनि बताएका छन् । नयाँ सरकारमा ‘पवित्र र शिक्षित’ व्यक्ति रहने पनि उनको भनाइ छ । यसअघि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले वक्तव्य जारी गर्दै नयाँ सरकार गठनका लागि शीर्ष नेता मुल्ला हबीबुल्लाह अंखुदजादाको अध्यक्षतामा कन्दाहारमा तीन दिन बैठक सम्पन्न भएको जानकारी दिएका थिए ।
नयाँ सरकारमा महिलालाई पनि सहभागी गराइने स्टानिकजईको भनाइ छ । तालिबानको सरकारमा महिलालाई काम गर्न कुनै अप्ठेरो नहुने पनि उनको दाबी छ । कार्यालयमा गएर महिला कर्मचारीले निर्वाध रुपमा काम गर्न पाउने उनको भनाइ छ । स्टानिकजईले अन्तर्राष्ट्रिय समुदायले पनि आफूहरुको सरकारलाई मान्यता दिने बताए ।
अफगानी नागरिक एकजुट भएकाले पनि विश्वले यसको फाइदा उठाउन सक्ने उनको भनाइ छ । अमेरिका, युरोपेली युनियनलगायतका विश्वका सबै देशसँग तालिबानले असल सम्बन्ध स्थापना गर्न चाहेको पनि उनले बताए । कतारमा रहेको राजनीतिक कार्यालयका सदस्यले विभिन्न देशका प्रतिनिधिसँग कुराकानी गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
त्यस्तै अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि बन्द रहेको काबुल विमानस्थल दुई दिनमा सञ्चालनमा आउने उनले बताए । काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २५–३० मिलियन अमेरिकी डलर खर्च लाग्ने र उक्त खर्च कतार र टर्कीले उपलब्ध गराउने बताए । गत अगस्ट १५ मा तालिबान काबुलमा प्रवेश गरेसँगै राष्ट्रपति असरफ गनीले मुलुक छाडेका थिए ।