—डिल्ली बस्नेत ‘संगीत’
शब्दमा शक्ति छ । अनि जादुगरी छ । शब्दले हँसाउछ । मनको अँध्यारो पर्दा च्याथेर उज्यालोमा बाँच्न सिकाउँछ । अनि, शब्दले धुरु धुरु रुवाउँछ पनि । बर्षौदेखि चट्टान झैँ जमेर रहेका राग, द्वेष र कलेषहरुलाई अन्जानमा आँसुसंगै बगाउँछ । कहीँ शब्द पड्किन्छ बमसंगै । र, भत्काउँछ सामन्ती सोँच र सत्ताका पर्खालहरु । अनि, कहीँ शब्द पग्लिन्छ मैन बैत्तीसंगै । र, उज्यालो छर्दै बाँच्न सिकाउँछ ।
जे होस् शब्द एक छ । तर, रुपहरु अनेक छन् यसका । त्यसैले कायरहरु झस्किन्छन् हरेक शब्दसंगै । उनीहरुलाई थाहा छ शब्दको जादुगरी । अनि थाहा छ शब्दको अद्भूत शक्ति पनि । शब्दसंग सिँगौरी खेल्ने ताकत हुन्थ्यो भने किन भाँच्न खोज्थे कलमहरु । अनि, किन निमोठ्न खोज्थे सुकोमल गलाहरु । कायरहरु सदैव उज्यालोसंग डराउँछन् । उज्यालोमा कहिल्यै बस्ने सकेनन् उनीहरु । र, बाँच्न सकेनन् उनीहरु । सायद, अँध्यारोमा बाँच्न सजिलो लाग्दोहोला उनीहरुलाई । अँध्यारोमा तीर हान्न पल्केका कायरहरुलाई उज्यालो कहिल्यै पचेन । सायद, उज्यालो उनको वर्ग दुश्मन हो क्यारे । कायर मानसिकताका मनहरुलाई वेलैमा चिन्न सकिएन भने उज्यालो जिन्दगीमा कहिल्यै भेट्न सकिदैन ।
विगतले धेरै बलिदान दियो । विगतले धेरै पाठ सिकायो पनि । तैपनि, त्यो पाठ सिक्न चाहेनौँ हामीले । विगतले जतिसुकै वलिदान दिए पनि त्यो वलिदानको कदर बर्तमानमा हुन सकेन । त्यसैको परिणाम होे अँध्यारोको निरन्तरता । वर्तमान भनेकै उज्यालो हो । उज्यालो भनेकै वर्तमानको आधार स्तम्भ हो । वर्तमान कुन दिशातर्फ गइरहेको छ ? वर्तमानले के मागिरहेको छ ? वर्तमानको मागलाई हामीले सम्बोधन गर्न सक्यौँ या सकेनौँ ? वर्तमानलाई हामी चिन्ने प्रयास ग¥यौँ या गरेनौँ ? हामी केवल विगतलाई कोट्याउन व्यस्त छौँ । विगतका गाथा र महिमाले वर्तमान बलियो हुनसक्दैन ।
विगतलाई सच्याउँदै वर्तमानका तीखा धारहरुमा हिड्न हामी कति अभ्यस्त भयौँ ? त्यो नै वर्तमानको माग हो । त्यो मागलाई पूरा गर्न मेसिनगन होइन अव ब्रेनगनको साहारा लिनु पर्छ । ब्रेनगन भनेकै स्वस्थ सोँच र बलियो चिन्तन हो । तर, दुर्भाग्य ! अहंकारको गन बोकेर हामी कसैको गलो निमोठ्न व्यस्त छौँ । कपुरी ‘क’ को कलाकारिताले विश्व सिँगार्न सक्छ भन्ने कुरामा विश्वास हामीलाई छ कि छैन ? वर्तमानको यक्ष प्रश्न यो हो ।
भोलिका लागि बाँच्ने मान्छेहरु आजसंग खेलबाड गर्न सक्दैनन् । भोलिको भविष्य बुझेका मान्छेहरु आजलाई सदुपयोग गर्न आतुर हुन्छन् । भोलिको माहोल बनाउने भनेकै आजलाई बनाउनु हो । तैपनि, आजको दिनमा हामी के गर्दैछौँ ? राम्रो काम गरेर दिन व्यतित गरिरहेका छौँ कि अर्कैको टिका टिप्पणी गरेर दिन वर्वाद पारिरहेका छौँ ? राम्ररी सोच्नु पर्ने वेला आइ सकेको छ । अर्थपूर्ण जिन्दगी खोज्न बाहिर बाहिर भौतारिएर हुँदैन । हामीले जे खोजिरहेका छौँ त्यो बाहिरको दुनिया हो । बाहिरको दुनिया भनेकै अस्थिर दुनिया हो । बाहिरको दुनिया भनेको ध्वंशको दुनिया हो । अस्थिर दुनियाले स्थिर मन हुनसक्दैन । अस्थिर मनले प्रगति होइन दुर्गति निम्त्याउँछ ।
बाहिरको दुनिया नकारात्मक तत्वले भरिएको छ । त्यही नकारात्मक तत्वले हरेकको मनमा शान्ती र अमन चैन खोसेको छ । कयौँको घरबास उजाडिएको छ । कयौँको आशा निराशको वादलमा मडारिएको छ । त्यही नकारात्मक चिन्तनको छूराले हामी भित्र भित्रै रेटिएर आत्महत्या गरिरहेका छौँ । ज्यूँदो लाश भएर बाँच्न बाध्य भएका छौँ । कतिन्जेल मनमा मेसिन गन लिएर बाँच्ने ?
मान्छेलाई मार्न हतियार चाहिदैन । हतियारले हानेको मान्छे सजिलै मर्न सक्छ । तर, गलत चिन्तन र विचारले मान्छेलाई पल पल मारिरहेको हुन्छ । शत्रुलाई मार्न धेरै सजिलो छ । शत्रुलाई हतियारले होइन उसको मनमा गलत सोँच र विचारको जहर घोलिदिए पुग्छ । हामी हरेक दिन कस्तो खाले विचार बोकेर जन्मि रहेका छौँ ? विहान उठेदेखि साँझ सुत्दासम्म हाम्रो मनमा कस्ता खाले विचारहरु जन्मिरहेका छन् ?
ती विचारहरुको श्रृङ्खलावद्ध कहानी नै हाम्रो भोलिको भविष्य हो । वर्तमानको मेसिनगनले भोलिको भविष्य कहिल्यै पनि उज्यालो हुँदैन । भोलिको उज्ज्वल भविष्यको रुप रेखा कोर्नु छ भने आजदेखि नै व्रेनगन चलाउन जान्नु पर्छ । स्वस्थ मन भन्नु नै स्वस्थ विचार हो । तैपनि, हामी मनमा अनेक तरहका खराव चिन्तनहरु बोकेर बाँचिरहेका छौँ ।
जीवन गतिशिल छ । जीवन उर्जावान छ । जव सकारात्मक सोँच र चिन्तनको विकास हुन्छ तवमात्र नै त्यो उर्जाले जीवनमा परिवर्तन ल्याउन सक्छ । तर, जीवनको उर्जाशिल समयमा नकारात्मक पक्षको मेसिनगन हावी हुँदै गयो भने अवश्य नै वर्वाद बनाइ दिन सक्छ । समुन्नत र स्वस्थ जीवनले सदैव मेसिनगन होइन व्रेनगन खोजिरहेको हुन्छ ।
अस्तु