—डिल्ली बस्नेत ‘संगीत’
आनन्द लिन जाने जिन्दगी एक खेल हो
बोझ ठान्दै गयौँ भने खतरनाक जेल हो
जे जसरी बुझे पनि आखिर जिन्दगी
भौतिक भोगबन्धन संगै परमात्माको मेल हो ।।
जिन्दगी भोगाइको खेल हो । खाँदै जाउ र खेल्दै जाउको प्रक्रिया नै वास्तविक जिन्दगी हो । तैपनि, मान्छे खाने कुरामा बढी प्राथमिकता दिन्छ । त्यो खाएको कुरालाई पचाउन खेल्नु पर्छ भन्ने कुरा उसले विर्सिदिन्छ । भौतिक रुपमा हामी जे जसरी एकाकार छौ त्यो क्षणिक छ । एकाकारले बाह्य वन्धनलाई मज्वुत बनाउँला । तर, आन्तरिक बन्धन खुकुलो भयो भने जिन्दगी धरापमा पर्छ । आन्तरिक बन्धन भनेकै माइन्ड पावर हो । हामी हरेक दिन के सोँच्छौँ त्यो नै हाम्रो माइन्ड पावर हो । अनि, सोचे अनुसार के गर्दैछौँ त्यही नै वास्तविक जिन्दगीको सफलता हो ।
जिन्दगी जल्ने होइन हरेक पल बल्नु पर्छ । जलेर जिन्दगी चितामा खाक हुन्छ । बलेर जिन्दगी तेजिलो राप हुन्छ । मान्छे विचारले फरक फरक प्रवृत्तिको हुन्छ । कोही रोएर दुख मनाउ गर्छ । कोही हाँसेर नै दुखलाई दवाइ दिन्छ । तैपनि, जिन्दगीमा दुख कहिल्यै घट्दैन । सदैव दुखको साथ जिन्दगी अगाडि बढी रहेकै हुन्छ ।
हिन्दीमा एक कहावत छ
खोकर पानेका मजा ही कुछ और है
रोकर मुँस्कुरानेका मजा ही कुछ और है
वास्तवमा सबथोक हामीसंगै रहोस् भन्नु नै दुखलाई निम्त्याउनु हो । सबै कुरामा मोह माया राख्नु भनेकै दुखको दलदलमा फस्नु हो । जन्मदा हामी रित्तो थियौँ । मर्दा पनि रित्तो भएर नै जानेछौँ भने विचको अवधिमा हामीलाई किन चाहियो सबथोक ? तपाईको हातमा फलामको डल्ला छन् । तपाईले सोचिरहनु भएको छ कि हातमा पकडिएका फलामका डल्ला नै सबथोक हो । तपाई उसलाई कहिल्यै पनि फ्याँक्न चाहानुहुन्न । तपाईलाई डर छ कि कुनै दिन हातका फलामका डल्ला फ्याँकियो भने जिन्दगी घर न घाटको हुन्छ ।
त्यही मनस्थितिले बाँचिरहेको हाम्रो जिन्दगीमा कुनै दिन सुनका डल्ला आए भने हामी टुलुटुल हेरेर ¥याल चुहाउन बाँध्य हुन्छौँ । हातमा रहेका फलाम डल्ला हामी सहजै फ्याँक्न सक्दैनौँ । जवसम्म फलामका डल्ला फ्याँक्न सकिदैन तवसम्म सुनका डल्लालाई टिप्न पनि सकिदैन । आखिर जिन्दगीमा यही कुरा हामी भोग्दै आइरहेका छौँ ।
हामी हारेर बाँचिरहेका छौँ कि बाँचेर पनि हारिरहेका छौँ ? एक जना हिन्दी शायरले भनेको याद आयो
हार तो जिन्दगीका हिस्सा है मेरे दोस्त
हारकर जीत जानेका मजा ही कुछ और है ।।
जिन्दगी भनेकै हार र जीतको खेल हो । हारेर बाँच्नु भनेको कुनै दिन जीतको लागि कुरिरहेको हो भने बाँचेर पनि हार्दै जानुृ भनेको जिन्दगी नर्कमा धकेलिदैँ जानु हो । हामी स्वर्गको प्रतिक्षामा बाँचिरहेका छौँ कि नर्कको खाडल खन्दै बाँचिरहेका छौँ ? प्रश्न आफैलाई गर्नु नै बुद्धिमानी हुनेछ । एक पानी जहाज समुन्द्रको लहरदेखि डरायो भने कहिल्यै पनि आफ्नो यात्रा पार गर्न सक्दैन ।
लहरहरु आउँछन्, जान्छन् । र, क्षणमै समुन्द्रको किनारमा विलाउछन् । जिन्दग्मिा पनि त्यस्ता तरंगहरु आउँछन्, जान्छन् । ती तरंगहरु टिकाउ हुँदैनन् । पलभरमै विलिन हुन पुग्छन् । तर, ख्याल गर्नुहोस् त्यही तरंगमा तरंगित भइरहने हो भने मनको क्यानभासमा त्यसले कहिल्यै नमेटिने आकृति बनाउन पुग्छ । त्यही नै जिन्दगीभरको पीडा बन्न पुग्छ । हारलाई हरबखत प्रहार गर्दै अगाडि बढ्नु भनेकै जिन्दगीको असली जीत हो ।
लहरो से डर कर नौका पार नही होती
कोशिस करने वालोँ की कभी हार नही होती ।।
जिन्दगी बोझिलो होइन, ओझिलो बन्नु पर्छ । जिन्दगी तरबारको धार हो । चलाउन जाने मनका बोझहरुलाई सहजै काट्न सक्छ । जानेन भने आफैलाई सिद्धयाउन सक्छ । जिन्दगी अखबार हो । पढ्न जाने आफैँमा ज्ञानको भण्डार हो ।
चिन्न सकेन भने ज्यूँदो लाश हो । जिन्दगीले प्रकृतिबाट हरेक कुरा सिक्न सक्छ । खोज्नु जाने सबथोक छ । वेवास्ता गरे यही जिन्दगीमा रोग, भोक र शोक छ । ख्याल गर्नुहोस् सूर्य जस्तै यदि जिन्दगीमा चम्किन चाहानुहुन्छ भने पहिला सूर्य जस्तै जल्न सिक्नुहोस् । तवमात्र जिन्दगी बल्न सक्छ ।
अस्तु