१३ साउन, काठमाडौं । गितमा समावेश शब्दका कारण बेला–बेलामा विवादित हुँदै आएका गायक दुर्गेश थापा फेरि अर्काे विवादमा तानिएका छन् । गाएक थापाको भर्खरै रिलिज गीतले समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति समेत जनाएको छ ।

उनले एकसाता अघि मात्रै तीज गीत ‘बीच्च बीच्चमा ४–ख्यास्स पुतली’ बोलको गीत ल्याएका थिए । ‘बीच्च बीच्चमा ४–ख्यास्स पुतली’ गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ । ‘ख्यास्स पुतली’ बोलको गीतले समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएको हो ।

गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । तर, दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा प्रयोग भएका शब्दहरुले तीज पर्व र चेलिबेटिको नै खिल्ली उठाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन् ।

‘गीत ल्याउने हल्ला चले लगत्तै हामीले मौखिक तथा पत्रमार्फत पनि दुर्गेशलाई शब्दमा फेरवदल गर्न अनुरोध गरेका थियौँ। महिला दिदीबहिनीको चाडपर्वमा भल्गारिटी नल्याउने र तीज संस्कृति बचाउने गीत ल्याउन भनेका थियौँ। तर, उहाँले हाम्रो कुरा मतलब गर्नु भएन,’ उनले भने। संस्थाको आग्रहलाई नमानेपछि प्रतिष्ठानले दुर्गेश थापालाई संस्थाबाट नै बहिष्कार गर्ने तयारी गरेको बिजीले बताए।

बिजीले भने, ‘दुर्गेशको विषयमा हामी आइतबार बैठक बस्दैछौँ। हामी उहाँलाई संस्थागत रुपमा संस्थाका कुनै पनि कार्यक्रममा समावेश नगर्ने, आजीवन साधारण सदस्य पनि नरहने गरेर बहिष्कार गर्ने निर्णय गर्दैछौँ । बैठकमा दुर्गेशविरुद्ध राज्यलाई कारबाहीको माग गर्नेछौँ । साथै, तीजका गीतमा संस्कृति बिगार्ने खालका शब्दहरु प्रयोग गरेको भनि संस्थागत रुपमा गुगललाई गीत हटाउन अनुरोध गर्ने समेत उनले जानकारी दिए । यस्ता गीतहरुविरुद्ध महिलाहरुले समेत आवाज उठाउनु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय