दीर्घराज प्रसाई / संसारमा सभ्यताको विकास कहाँबाट भयो, कसरी भयो भन्ने कुराले मलाई सँधै सोध्ने गर्थे । तर मैले संसारमा सभ्यताको विकास हिमवतखण्डबाट भएको हो भन्ने कुरा कतै पढ्न पाइन । मलाई लाग्यो पश्चिमाहरुले पूर्वीय सभ्यताको जानकारी नैं नपाएको जस्तो देखियो । मैले पढदा र पछि स्कूलहरुमा पढाउँदा पनि यसको खोजमा लागिरहें । परिस्थिति वस मैले २०२५ सालमा इतिहासमा एम्ए गरे । इतिहासको अध्ययनको शिलशिलामा संसारमा सभ्यताको विकास मेसोपोटोमिया, इजिप्ट, बेबोलियन्, यूनानबाट संसारमा सभ्यताको विकास भयो भन्ने मात्र पढ्न पाइयो ।

वास्तवमा पश्चिमाहरुमा सभ्यताको विकास, चेतना र समृद्धिका सम्पूर्ण आधारहरु हिमवतखण्डको प्रभाव परिसकेको थियो । हिमवतखण्ड भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मानसरोवर र दक्षिणमा गंगानदी हो । हिमवतखण्ड यस्तो पवित्र स्थल हो जहाँ ठूलठूला ऋषिहरुको जन्म भयो, वेद, पुराणहरु, उपनिषद, नीतिशास्त्रहरु लेखिए जहाँ सम्पूर्ण ज्ञानको विकास भयो । अतः हिमवतखण्डबाटै संसारमा सभ्यताको विकास भएको थियो ।

इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएको छ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ । विदेशी अधिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । भारतमा अंगे्रजहरुबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । तर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका राज्यहरुको एकीकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्ने काम गरे । यसउसले यो भूमि कहिले पनि बिटुलो भएन ।

वैदिक सनातन हिन्दु दर्शन हिमवत्खण्ड नेपालको उपज हो । यही हिन्दुस्थलमा २५६० बर्ष अगाडि हिन्दु राजा शुद्धोधन र रानी मायाँदेबीबाट सिद्धान्र्थ गौतमको जन्म बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्य दक्षिणको तराईमा पर्छ । बैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु, बैशाख पूर्णिमाका दिन मैं गौतम बुद्धले बोधिसत्व प्राप्त गर्नुु र त्यही बैशाख पूर्णिमाको दिनमा ८० बर्षको उमेरमा, भिक्षु आनन्द तथा अन्य भक्तजनहरुसँग वार्तालाभ गर्दागर्दै, कुशीनगरमा बुद्धको स्वर्गारोहण हुनुले ‘बैशाख पूर्णिमा’ गौतम बुद्धको लागि एक असाधारण दैवीक तीथिको रुपमा देखिन्छ । बुद्धले बताएका उपदेशहरुलाई लिखितरुपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयाईहरुले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे । बुद्धका उपदेशहरु ‘धम्मपद’ मा संग्रहीत छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक् व्यायाम अन्तगत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ ।

हिन्दुहरुका प्रवर्धनमा वैदिक ग्रन्थ, उपनिषद, मनुस्मृति लगायत गोरखनाथ मार्गदर्शक हुन् । आध्यात्मिक साधनाको क्षेत्रमा गुरु गोरखनाथको योगदान अद्वितीय छ । गुरु गोरखनाथको दर्शनले एकातिर वैदिक दर्शन÷संस्कृति र बौद्ध दर्शन÷संस्कृतिलाई नजिक्याएको छ भने अर्कोतिर तन्त्र र मन्त्रको सुन्दर सामन्जस्य गरी हाम्रो पूर्वीय दर्शनलाई धनी बनाएको छ । यसैगरी एकातिर उच्च षडङ्ग योगदर्शनको शिक्षा दिएको छ । हिन्दु तथा बौद्धभित्र मूर्ति पूजा गर्ने, मूर्ति पूजा नगर्ने, जनै लगाउने, जनै नलगाउने, टुप्पी पाल्ने टुप्पी नराख्ने, मान्साहारी, शाकाहारी, आीसतक, नास्तिक, बैरागी, सन्यासी यी सबै एकसाथ सहअस्तित्वको हिन्दुत्व र बुद्धत्व माथि विश्वास गर्छन् ।
यसक्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरुको महान देन छ । सप्त ऋषिहरु ब्राम्हण र क्षेत्रीहरु भएता पनि किरातीहरुका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरुको नामबाट विभिन्न जातिहरुको गोत्र चलेकोछ । किरातीहरुको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन ।

हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरु– कस्यप, भारद्वाज, विश्वामित्र, कौसिक), वशिष्ट, अत्री, गौतम, जमदग्नी, सप्तऋषिहरु(नेमुनीे’,परशुराम,उपमन्य,मौतगल्य,शाण्डिल्य,मरिची,अंंगिरा,गार्गी,यज्ञवल्क्य,मैत्रेयी,ब्यास पुलह,भृगु,माण्डव, जस्ता यस्ता सैयौं ऋषिहरुको तपोभूमि, कर्मभूमि हो– यो हिमवतखण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् । बाल्मिकि ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए ।

कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा “हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् । ‘कृर्वन्तो विश्वमार्यम्’ विश्वलाई नैं सभ्य बनाऔं, भन्ने ऋषि महर्षीहरुको उद्घोस थियो जहाँ विश्वका कैयौं देशहरुमा ऋषिहरु र वेत्ताहरुबाट वैदिक ज्ञान ब्यापक बनाउन खोजिएको र यही भूखण्डबाट विश्ब्यापीरुपमा सभ्यताको विकास भएको थियो । यसरी नैं विशाल नेपालको सिर्जना भएपछि पृथ्वीनारायणशाहका पालादेखि अहिलेसम्मका नेपालमा हिन्दु र बौद्ध बीचमा मतभेद रहेन । मुस्लिम, क्रिश्चियन धर्मवलंवीहरुसँग पनि नेपालको प्रतिशोध थिएन ।

हिन्दु अधिराज्य नेपालको सार्वभौमसत्ता, एकता र पहिचानसँग जोडिएको स्रोत हो । त्यसैले अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित संवैधानिक राजसंस्था र नेपालको तराई, पहाड, हिमाललाई एकताको सूत्रमा आवद्ध गर्न सक्ने एक स्रोत हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका थुप्रै स–साना हिन्दु राज्यहरु–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुर, बाइसे, चौबिसे, पाल्पा, कास्की लगायत ५४ भन्दा बढी हिन्दु राज्यहरुलाई एकीकृत गरेर बनेको उस बेला देखिको नेपाल हिन्दु अधिराज्य हो । हिन्दु अधिराज्य नेपालको सार्वभौमसत्ता, एकता र पहिचानसँग जोडिएको स्रोत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय